नेपाल र यूएईबीचको दोस्रो खेल आज

खेल साँझ ५ बजे सुरु हुने
वैशाख ८, २०८३ |अभय बस्नेत
नेपाल र यूएईबीचको दोस्रो खेल आज

काठमाडौं । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार नेपाल र यूएईबीचको टी-२० श्रृंखलाको दोस्रो तथा अन्तिम खेल हुँदैछ । 

मंगलबार साँझ ५ बजे सुरु हुने यस खेललाई क्रिकेट बृत्तमा 'एसोसिएट एल क्लासिको' को रूपमा लिइन्छ । वर्षाले प्रभावित पहिलो खेलमा पराजय भोगेको नेपालका लागि मंगलबारको खेल जोगाउने अन्तिम अवसर हुनेछ । घरेलु मैदानमा पहिलो पटक फ्लडलाइट मुनि खेलिरहेको नेपाली टोली मंगलबार यूएईविरूद्ध 'डु अर डाई' को स्थितिमा मैदान उत्रिँदैछ । 

सोमबार भएको पहिलो खेलमा डीएलएस विधिको आधारमा भएको खेलमा ६ विकेटको हार व्यहोरेपछि नेपाल श्रृंखलामा १-० ले पछि परेको छ । पहिलो खेलमा नेपालको ब्याटिङ पक्ष कमजोर देखिए पनि बलिङमा सन्दीप लामिछानेले २ ओभरमा मात्र ८ रन खर्चेर ३ विकेट लिँदै लयमा देखिन्छन् ।

अर्कोतर्फ, पाहुना टोली यूएईका कप्तान मोहमद वासिम उच्च लयमा देखिएका छन्, जसले पहिलो खेलमा १५ बलमै ३३ रन प्रहार गर्दै नेपाललाई दबाबमा राखेका थिए । यूएईका लागि जुनैद सिद्धिकी र मुहम्मद जुहैबको बलिङ अट्याक नेपालका लागि पुनः चुनौती बन्न सक्छ ।

नेपाललाई मंगलबारको खेल जितेर श्रृंखला बराबरी गर्न आफ्ना माथिल्लो क्रमका ब्याटरहरू कुशल भुर्तेल र आसिफ शेखबाट ठोस सुरूवातको अपेक्षा हुनेछ । खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स-२ बाट हुनेछ ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनकाे स्पाेर्ट्स ब्युराेमा कार्यरत छन् ।