
काठमाडौं । ओमानसँगको आगामी सिरिजका लागि नेपाल ‘ए’ को अन्तिम टोली घोषणा भएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको अनुभव सम्हालिसकेका अनिल शाहको कप्तानीमा नेपाली टिमको घोषणा भएको हो । टोलीमा युवा र अनुभवी खेलाडीहरूको सन्तुलन मिलाइएको छ । राष्ट्रिय टोलीबाट अनुभव बटुलिसकेका देव खनाल, इशान पाण्डे, सन्दीप जोरा, कुशल मल्ल, राशीद खान, शाहब आलम, शेर मल्ललगायत खेलाडी टोलीमा रहेका छन् ।
नेपाल ‘ए’ का बाँकी खेलाडीहरूमा तृतराज दास, सन्तोष यादव, हेमन्त धामी, रिजन ढकाल, आकाश चन्द र युवराज खत्री रहेका छन् । टोलीको मुख्य प्रशिक्षकमा राजु बस्न्यात रहेका छन् । उनी फ्रेन्चाइज टिम कर्णाली याक्सका प्रशिक्षकसमेत हुन् ।
क्यानले साेमबार मात्रै नेपाल ‘ए’ टिमको प्रारम्भिक टोली घोषणा गरेको थियो । नेपाली खेलाडीलाई धेरै अन्तर्राष्ट्रिय एक्सपोजर दिने उद्देश्यले नेपाल ‘ए’ टिमलाई क्यालेन्डरमा नै समावेश गरेर क्रिकेट संघले खेल आयोजना गर्ने गरेको छ । अब नेपाल र ओमानबीचको खेल बुधबारबाट तीन दिन सञ्चालन हुने तालिका छ ।
यस सिरिजलाई नेपालको तयारी र प्रदर्शनका हिसाबले महत्त्वपूर्ण मानिएको छ, जहाँ नयाँ खेलाडीले आफूलाई प्रमाणित गर्ने अवसर पनि पाउनेछन् ।