
काठमाडौं । प्रशिक्षक नवीन न्यौपानेले भारतको गोवामा आयोजना हुने आगामी साफ महिला च्याम्पियनसिप २०२६ का लागि ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन् ।
साफ च्यामपियनसीपका लागि नेपाली महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण आगामी अप्रिल २७ देखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ । प्रतियोगिता आगामी मे २५ देखि जुन ७ सम्म गोवाको फतोर्डा स्टेडियममा सञ्चालन हुनेछ ।
साफ च्याम्पियनसिपको इतिहासमा नेपाल ६ पटक उपविजेता बने पनि अहिलेसम्म उपाधि भने जित्न सकेको छैन । त्यसैले पनि प्रशिक्षक न्यौपानेको नेतृत्वमा नेपाली टोली यसपटक पहिलो ऐतिहासिक स्वर्ण पदक चुम्ने मुख्य लक्ष्यका साथ मैदान उत्रिने तयारीमा छ ।
प्रारम्भिक टोलीमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, रेखा पौडेल, सावित्रा भण्डारी र रेनुका नगरकोटी जस्ता अनुभवी खेलाडीका साथै प्रीति राई जस्ता प्रतिभाहरू समावेश छन् ।