
काठमाडौं । यूएईले नेपाललाई जितका लागि एक सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल र यूएईबीच टी-२० आई शृंखलाको दोस्रो खेलमा नेपालले जितका लागि १२९ रनको लक्ष्य पाएको हो। यूएईले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको हो।
टस जितेर पहिले फिल्डिङको निर्णय गरेको नेपालविरुद्ध यूएईले खुलेर खेल्न भने सकेन्। यूएईका भरपर्दा ब्याटर मुहम्मद वासिमलाई हेमन्त धामीले पहिलो बलमा नै एलबिडब्ल्यू धरापमा पारेका थिए। नन्दन यादव र हेमन्तले क्रमशः अलिशान सराफु र हरप्रित सिंहलाई एक एक रनमा रनमा आउट गराए।
यता अदिब उसमानीले ३० रन बनाए। उनले चार बाउन्ड्री प्रहार गरे। अक्षदीप नाथले अविजित ५३ रनको योगदान गरेका थिए। सोएब खान र निलान्स केसवानी शून्यमा आउट हुँदा यूएई कमजोर अवस्थामा पुगेको थियो। उसले ६ विकेट गुमाउँदा ४८ रन मात्रै बनाएको थियो। त्यसपछि मुहम्मद अरफानले ३२ रन जोडेका थिए।
नेपालका सन्दीप लामिछानेले किफायति र धारिलो बलिङ गरे। उनले चार ओभरमा एक मेडनसहित ६ रन मात्रै खर्चिएर तीन विकेट नै लिएका थिए। हेमन्तको नाममा २ विकेट रह्यो ।