गत वर्ष जलेर नष्ट भएको इलामको जस्विरेस्थित चिया कारखाना फेरि सञ्चालनमा

वैशाख ९, २०८३ |विप्लव भट्टराई
गत वर्ष जलेर नष्ट भएको इलामको जस्विरेस्थित चिया कारखाना फेरि सञ्चालनमा

इलाम । गत वर्ष जलेर नष्ट भएको इलामको जस्विरेस्थित चिया कारखाना फेरि सञ्चालनमा आएको छ । 

उद्यमीको हिम्मत अनि किसान र शुभेच्छुकको सहयोगले कारखाना पूर्णरूपमा सञ्चालनमा आएको हो । गुणस्तरीय अर्थोडक्स चिया उत्पादन गर्ने जस्विरे चिया कारखाना गत वर्षको फागुनमा आगलागीमा परेको थियो । आगलागीका कारण कारखाना भवन, मेशिन र तयारी चियासहित करिब ९ करोडको क्षति भएको थियो । 

आगलागीबाट हतोत्साही नबनेर सञ्चालकहरूले केही महिनामै अस्थायी व्यवस्थापन गरेर कारखाना सञ्चालनमा ल्याए । अहिले भने पक्की भवनसहित मेसिनहरू जडान गरेर पूर्णरूपमा कारखाना सञ्चालनमा आएको हो । यो कारखानासँग सयौँ चिया किसान जोडिएका छन् । 

उत्तरी इलामका विभिन्न गाउँबाट हरियो चियापत्ती खरिद गरेर कारखानाले प्रशोधन गर्ने गरेको छ । ब्ल्याक, ग्रिन, ओलाङ, सिल्भर, गोल्डेनलगायत विभिन्न ब्रान्डमा यहाँ उत्पादन हुने चियाको बजार स्थानीय र अन्तराष्ट्रियस्तरमा पनि राम्रो छ ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।