
काठमाडौं । नेपाल 'ए' टिमले ओमानसँगको सिरिजको पहिलो खेलमा २ सय ८१ रनको लक्ष्य पाएको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा ओमानले ब्याटिङमा राम्रो प्रदर्शन गरेर दुई सय ८० रन बनाएको हो। टस जितेर पहिले ब्याटिङ रोजको ओमानले निर्धारित ५० ओभमा नौ विकेट गुमाएर २ सय ८० रन बनाएको थियो। ओपनर जतिन्दर सिंहले आशिष ओडेरासँग मिलेर ७९ रनको साझेदारी गर्दै खेलमा राम्रो सुरुआत दिलाएका थिए।
सन्तोष यादवले ५८ रन बनाएको अवस्थामा जतिन्दरलाई आउट गराएर ओपनिङ साझेदारी तोडेका हुन्। जतिन्दरले ४८ बलमा १० बाउन्ड्रीसहित ५८ रन बनाए। सन्तोषले नै २७ रन बनाएको अवस्थामा आशिषलाई पनि क्याचआउट गराएका थिए।
चौथो नम्बरका मुजिबुर अलीले ७२ रन को उत्कृष्ट इनिङ्स खेले। उनले ८५ बलमा सात बाउन्ड्री लगाएका हुन्। यस्तै, हसिर डफेडरले ४१ बलमा ४६ रनको महत्वपूर्ण इनिङ्स खेलेका थिए। उनले मुजिबुरसँग ९१ रनको ठूलो साझेदारी गरेर ओमानलाई चार विकेट एक सय ८५ रनको सहज अवस्थामा पुर्याएका थिए।
पछिल्लो क्रमले खास प्रदर्शन गर्न नसकेको भए पनि विनायक शुक्लाले २५ रनको भने योगदान गर्न सके। नेपालका लागि आकाश चन्दले नौ ओभर बलिङ गरेर तीन दशमलव चारको इकोनोमीमा चार विकेट हात पारेका थिए। सन्तोषले दुई विकेट लिए। अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।