
काठमाडौं । एसोसिएट राष्ट्रको एल क्लासिको मानिने नेपाल र यूएई बीचको खेल साेमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।
साँझ ५ बजे सुरु हुने खेल नेपाली क्रिकेट इतिहासमा पहिलो पटक कुनै अन्तर्राष्ट्रिय पुरुष खेल आफ्नै घरेलु मैदानमा फ्लडलाइटमा आयोजना हुन लागेको हो । ऐतिहासिक मोडमा नेपाली टोलीको नेतृत्व अलराउन्डर दिपेन्द्र सिंह ऐरीले गर्दैछन् ।
पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने र रोहित पौडेलपछि नेपाली टी-२० टोलीको कप्तानी सम्हाल्ने दिपेन्द्र पाँचौं कप्तान हुन् । विश्वकै चौथो नम्बरका टी-२० अलराउन्डर दिपेन्द्रको नाममा ९ बलमा अर्धशतक र एकै ओभरमा ६ छक्का प्रहार गरेको विश्व कीर्तिमान छ।
हालै सम्पन्न नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई दुई पटक फाइनल पुर्याएका दिपेन्द्र सानदार नेतृत्व गर्न सक्षम कप्तान मानिन्छन् । नेपाली क्रिकेटमा पहिलोपटक दुई फरक प्रारुपका लागि दुई फरक टोली र कप्तान घोषणा गरिएको छ। टी-२० मा दिपेन्द्रले कप्तानी गर्दा, नियमित कप्तान रोहित पौडेलले एकदिवसीय टोलीको नेतृत्व जारी राख्दैछन् ।
१५ सदस्यीय टी-२० टोलीमा प्रधानमन्त्री कपका 'प्लेयर अफ द सिरिज' सन्तोष यादव र सर्वाधिक विकेट लिने हेमन्त धामीले पहिलोपटक स्थान बनाएका छन् । यस्तै, सन्दीप लामिछाने, कुशल भुर्तेल, र कुशल मल्ल जस्ता अनुभवी खेलाडीको साथले नेपाली टोली बलियो देखिएको छ।
हेड टू हेडमा, नेपाल र यूएईबीच टी-२० आईमा अहिलेसम्म भएका ११ खेलमध्ये नेपालले ६ खेल जितेको छ भने यूएईले ५ खेलमा जित निकालेको छ। मोहम्मद वसिमको नेतृत्वमा रहेको यूएई टोली पनि अनुभवी खेलाडीका साथ नेपाललाई कडा चुनौती दिन तयार छ ।
यस सिरीजको प्रत्यक्ष प्रशारण कान्तिपुर म्याक्स-२ बाट हुनेछ ।