काठमाडौं । काठमाडौंका नदी किनाराबाट हटाइएका सुकुम्वासी परिवारलाई अस्थायी रूपमा नागार्जुनस्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिएको छ ।
केहीले बस्न मिल्ने वातावरण भएको भन्दै सन्तुष्टि जनाएका छन् । तर, धेरैले आधारभूत सुविधा बिना नै हतारमा सारिएको गुनासो गरेका छन् । थापाथली, मनोहरा र सिनामंगलबाट हटाइएपछि होल्डिङ सेन्टर र होटलहरूमा राखिँदै आएका सुकुम्वासी बस्तीका नागरिकलाई नागार्जुनस्थित सरकारी अपार्टमेन्टमा सारिएको छ ।
शुक्रबार साँझ करिब ४० परिवारका ९३ जनालाई त्यहाँ पुर्याइएको हो । केहीलाई अपार्टमेन्ट आफ्नै घरजस्तो नभए पनि सानो परिवारका लागि बस्न योग्य लाग्यो । तर, कतिपयले आधारभूत सुविधा व्यवस्थापन नगरी हतारमा सारिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
आफूहरूलाई कति समयका लागि यहाँ राखिने हो भन्नेबारे स्पष्ट जानकारी नदिइएको उनीहरूको गुनासो छ । यहाँ बसेका परिवारहरूले खाना, स्वास्थ्य सेवा तथा दीर्घरोगीहरूको उपचार व्यवस्थापनबारे चिन्ता व्यक्त गरेका छन् । ज्येष्ठ नागरिकलाई अस्पताल जान कठिन भएको, बालबालिकाको पठनपाठन प्रभावित भएको र काममा जानसमेत समस्या भएको उनीहरू बताउँछन् ।
बालबालिकाका लागि अध्ययनको वातावरण र रोजगारीको व्यवस्था गरिदिन उनीहरूको माग छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा सरकारले काठमाडौंका खोला किनारमा बसोबास गर्ने सुकुम्वासीलाई सुविधा दिने उद्देश्यले यो भवन निर्माण गरेको थियो ।
तर, सुकुम्वासीहरू त्यहाँ बस्न नमान्दा अपार्टमेन्ट पूर्णरूपमा प्रयोग हुन सकेको थिएन । लामो समय प्रयोगविहीन हुँदा भवन जीर्ण बनेको अवस्थामा रहेको छ र अहिले पनि सरसफाइलगायतका काम जारी छन् । अपार्टमेन्टमा खाना, खानेपानी तथा दैनिक आवश्यक सामग्रीको पर्याप्त व्यवस्था नभएको भन्दै उचित बसोबास, आधारभूत सेवा र आफ्नै नाममा जमिनको व्यवस्था गर्नुपर्ने माग उनीहरूले राखेका छन् ।
यहाँ स्थानान्तरण गरिएका नागरिकका लागि यही अपार्टमेन्टमा रहेको मानव सेवा आश्रमले खानाको व्यवस्थापन गरिरहेको छ । अपार्टमेन्टमा पूर्वतयारीबिना नै हतारमा सारिएको र आधारभूत सुविधा पर्याप्त नभएको उनीहरूको गुनासो छ ।