
काठमाडौं । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षासमेत गरिनसकेको अवस्थामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी भने आगामी स्थानीय तह निर्वाचनमा जुटेको छ ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा जारी गर्दै रास्वपा अरु दलभन्दा अघि नै निर्वाचनमा होमिएको हो । जबकी आगामी स्थानीय तह निर्वाचनको मिति नै तोकिएको छैन । के छ त रास्वपाको उम्मेदवार छनोट रूपरेखामा ?
राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको आउने असार ७ गते ४ वर्ष पूरा हुनेछ। यतिन्जेल उसले दुईवटा संघीय संसद् र स्थानीय निर्वाचन र संघीय संसद्कै तीन उपनिर्वाचनमा सहभागी भयो। प्रदेश तहको निर्वाचनमा भने उसले सहभागिता जनाएको छैन। राष्ट्रिय सभाको चुनावमा पनि उसको सहभागिता छैन।
पार्टी गठनपछि हुनुपर्ने केन्द्रीय महाधिवेशन पनि भएको छैन। तर, सत्तारुढ रास्वपालाई डेढ वर्षपछि हुने स्थानीय निर्वाचनको तातो लागिसकेको छ। गत प्रतिनिधिसभा निर्वाचनमा उत्साहजनक नतिजा पाएको उसलाई लाग्छ, आउने स्थानीय निर्वाचनमा उम्मेदवारका आकांक्षी पार्टीमा धेरै हुनेछन्।
त्यसकारण महाधिवेशनको तयारीभन्दा स्थानीय निर्वाचनको तयारीमा उसको ध्यान बढी केन्द्रित देखिन्छ। यसैका लागि स्थानीय निर्वाचनका लागि उम्मेदवार बन्न मापदण्ड समेत रास्वपाले तय गरिसकेको छ। यसअघिका निर्वाचनमा प्राइमरी इलेक्सन गरेर उम्मेदवार छनाेट गर्ने भने पनि प्रभावकारी हुन नसकेपछि पार्टीभित्रै विवाद बढेको थियो ।
अब उसले आफ्नो विधानमै उल्लेख क्यान्डिडेट क्लब, लिडरसीप एकेडेमी र प्राइमरी इलेक्सनमार्फत स्थानीय चुनावका लागि उम्मेदवार तयार गर्न गति बढाएको छ। रास्वपाको विधानको भाग १९ मा उम्मेदवार क्लब र लिडरसीप एकेडेमी तथा भाग २० मा उम्मेदवार छनोटअघि प्रारम्भिक निर्वाचनको व्यवस्था छ ।
के हो क्यान्डिडेट क्लब ?
रास्वपाका अनुसार स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार बन्न इच्छुकले क्यान्डिडेट क्लबमा आवेदन दिनुपर्ने व्यवस्था छ । यहि चरणमा आकांक्षीको व्यक्तिगत पृष्ठभूमि, विज्ञता र आधारभूत योग्यताको तथ्यांक संकलन गर्ने योजना रास्वपाको छ ।
गैरनेपाली, फौजदारी कसुरमा सजाय पाएका तथा मुद्दा किनारा नलागेकाहरु उम्मेदवार बन्न पाउने छैनन् । त्यसबाहेक पनि आकांक्षीले शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गर्नुपर्ने, वैवाहिक अवस्थाको कानुनी स्पष्टता, दुर्व्यवहार तथा डिजिटल अपराध नगरेको, वित्तीय तथा आर्थिक शुद्धता, स्वार्थ बाझिने अवस्था नरहने तथा विचाराधीन मुद्दा तथा कानुनी विवादको स्पष्टता खोजेको छ ।
रोचक त के छ भने उम्मेदवार बन्न कुनै दलमा आबद्ध नरहेको स्वतन्त्र व्यक्तिको हकमा ४५ दिन र कुनै दलमा आबद्ध भएकाको हकमा पार्टी सदस्यता लिएको ९० दिन पूरा भएको हुनुपर्ने प्रावधानसहितको कुलिङ पिरियड पनि राखिएको छ । तथापि विशेष क्षमता भएका व्यक्तिको हकमा ४५ र ९० दिनको कुलिङ पिरियड नलाग्ने र सिधैं क्यान्डिडेट क्लबमा उम्मेवारी दर्ता गराउन सकिने बाटो भने रास्वपाले खुलै राखेको छ ।
उम्मेदवार छनोट रुपरेखाको अंकभार कुनमा कति ?
रास्वपाले उम्मेदवार छनोटमा मुल रूपमा चार मापदण्ड अघि सारेको छ । उम्मेदवार हुन योग्य व्यक्तिले २५ अंकको लिडरसीप एकेडेमी, २५ अंककै पोलिटिकल प्रोक्सिमिटी, १० अंकको समावेशीता र ४० अंकको प्रारम्भिक निर्वाचन पार गर्नुपर्ने हुन्छ ।
के गरिन्छ लिडरसीप एकेडेमीमा ?
आकांक्षीहरुले लिडरसीप एकेडेमीमा सहभागी भएर वैचारिक स्पष्टता, संविधान र स्थानीय स्वायत्त शासन त्यस्तै कानुनी साक्षरता, असल व्यवस्थापन तथा सम्पदा संरक्षण, प्रविधिमैत्री प्रशासन र डिजिटल साक्षरता, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, सामाजिक विकास र विपद् व्यवस्थापन त्यस्तै व्यक्तिगत वित्तीय साक्षरता र जीवनशैली व्यवस्थापन, स्थानीय आर्थिक विकास तथा दिगो स्रोत व्यवस्थापन र खुला सरकार, प्रभावकारी सञ्चार तथा जनसम्पर्कबारे प्रशिक्षण दिइने व्यवस्था छ ।
क्यान्डिडेट क्लब अनुत्तीर्णहरू लिडरसीप एकेडेमीको प्रक्रियामा सामेल हुन् पाउने छैनन् भने लिडरसीप एकेडेमीको अंकभार २५ छुट्याइएको छ ।
पोलिटिकल प्रोक्सिमिटी, समावेशीता र प्रारम्भिक निर्वाचनमा के के हुन्छ ?
उम्मेदवार छनोट रूपरेखाको २५ अंकभारको पोलिटिकल प्रोक्सिमिटीमा आकांक्षीको राजनीतिक पृष्ठभूमि, समाजमा स्थापित जनसम्बन्ध, चारित्रिक धरातल, लोकप्रियता र विजयको सम्भाव्यता मूल्यांकन गरिने र १० अंक बोकेको समावेशीतामा जनसांख्यिकीय अनुपात, उमेर समूह, लैङ्गिक समानता, अपङ्गता, भौगोलिक विकटता र सामाजिक आर्थिक पूष्ठभूमिसहितको बहुआयामिक समावेशिता लागू गरिने उल्लेख छ ।
४० अंकको प्रारम्भिक निर्वाचनमा भने अनलाइन मतदान, इन्टरनेट पहुँच कम भएकोमा अन्य वैकल्पिक विधि प्रयोग गर्ने उल्लेख छ । तर, त्यो विधिबारे भने रास्वपाले स्पष्ट पारेको छैन । यी सबै चरण पार गरेपछिको योग्य व्यक्तिलाई रास्वपाले उम्मेदवार बनाउने योजना बनाएको छ ।
तर, जारी उम्मेदवार छनोट रुपरेखाको विशेष व्यवस्था, विशेष अधिकारलगायतले अन्तिममा योग्य पाखा लाग्ने र आफ्ना र नेताका नजिककाले प्रश्रय पाउने ठाउँ पनि प्रशस्तै छ ।