
काठमाडौं । फिफा विश्वकप २०२६ को महाकुम्भ सुरु हुनै लाग्दा, ओशिनियाको पावरहाउस न्युजिल्यान्ड १६ वर्षको लामो प्रतीक्षापछि विश्व मञ्चमा फर्किएको छ ।
ओशिनिया फुटबल महासंघले पहिलो पटक प्राप्त गरेको सिधा छनोटको अवसरलाई सदुपयोग गर्दै न्युजिल्यान्डले आफ्नो तेस्रो विश्वकप यात्रा तय गरेको हो । प्रशिक्षक ड्यारेन बेजलीको निर्देशन र कप्तान क्रिस उडको नेतृत्वमा रहेको यो टोली यसपटक विश्वकपमा तेस्रो पटकको सहभागीताका लागि नर्थ अमेरिका पुग्दैछ ।
न्युजिल्यान्डको विश्वकप इतिहास सन् १९८२ को स्पेन विश्वकपबाट सुरु हुन्छ । १५ खेलको कठिन छनोट प्रक्रिया पार गर्दै न्युजिल्यान्ड पहिलो पटक विश्वकपमा पुगेको थियो । यद्यपि, त्यो 'डेब्यू' संस्करण टोलीका लागि बिर्सनलायक रह्याे । न्युजिल्यान्डले स्कटल्यान्डसँग ५-२, सोभियत संघसँग ३-० र ब्राजिलसँग ४-० को हार बेहोर्दै समूह चरणबाटै बाहिरिनु परेको थियो ।
तर, स्टिभ समर र स्टिभ उडिनले गरेका गोल न्युजिल्यान्डका लागि विश्वकप इतिहासकै पहिलो कोशेढुङ्गा सावित भए । न्युजिल्यान्डको फुटबल इतिहासकै सबैभन्दा सफल र पछिल्लो क्याम्पेन सन् २०१० को दक्षिण अफ्रिका विश्वकपलाई मानिन्छ । २८ वर्षको अन्तरालपछि फर्किएको न्युजिल्यान्डले समूह 'एफ' मा साविक विजेता इटाली, स्लोभाकिया र पाराग्वे जस्ता दिग्गज टोलीलाई स्तब्ध पारेको थियो ।
उक्त संस्करणमा न्युजिल्यान्डले विश्वकपभरि अपराजित रहने एक मात्र टोली बनेर कीर्तिमान कायम गर्यो । पहिलो खेलमा स्लोभाकियाविरुद्ध विन्स्टन रिडले ९३औं मिनेटमा गरेको बराबरी गोल र साविक विजेता इटालीलाई १-१ को बराबरीमा रोक्दा शेन स्मेल्टजले गरेको गोल आज पनि न्युजिल्यान्डको फुटबल प्रेमीहरुको मानसपटलमा ताजै छ ।
पाराग्वेसँग गोलरहित बराबरी खेल्दै ३ अंक बटुले पनि न्युजिल्यान्ड समूह चरणबाट बाहिरिएको थियो, तर उसले साविक विजेता इटालीभन्दा माथि रहेर गौरवमय बिदाइ पाएको थियो । यसपटक न्युजिल्यान्डले ओशिनिया छनोटमा आफ्नो पूर्ण वर्चस्व कायम गर्दै ५ खेलमा २९ गोल गर्यो र मात्र १ गोल व्यहोर्यो ।
फाइनलमा न्यु क्यालेडोनियालाई ३-० ले पराजित गर्दै टोलीले आफ्नो स्थान सुरक्षित गरेको हो । यस पटक न्युजिल्यान्ड समूह 'जी' मा बेल्जियम, इजिप्ट र इरानसाग भिड्दैछ । टोलीको मुख्य शक्ति कप्तान क्रिस उड हुन्, जसले सन् २०१० विश्वकपमा अनुभव बटुलेका थिए र अहिले टोलीका कीर्तिमानी गोलकर्ता हुन् ।
न्युजिल्यान्डले आफ्नो पहिलो खेल असार-२ मा लस एन्जलसमा इरानविरुद्ध खेल्नेछ, त्यस्तै, दोस्रो खेल असार ८ मा इजिप्टविरुद्ध खेल्नेछ भने, आफ्नो अन्तिम खेलमा असार १३ मा बेल्जियमको सामना गर्नेछ । जहाँ उसको लक्ष्य विश्वकप इतिहासमा आफ्नो पहिलो जित दर्ता गर्नु र नकआउट चरणमा प्रवेश गर्नु हुनेछ ।