राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

दुई विधामा कोर्ष रेकर्ड ब्रेक
वैशाख ५, २०८३ |अभय बस्नेत
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

काठमाडौं । नेपालमा दौड प्रतियोगिताको व्यापकताको इतिहास खासै पुरानो छैन् । तर, पछिल्लो समय म्याराथन र हाफ म्याराथनको लगातार आयोजनाले खेलाडीको मनोबल मात्र होइन उत्पादन समेत बढेको छ । 

यसैक्रममा झन्डै चार हजार धावक सहभागी कान्तिपुर हाफ म्याराथनले यो वर्ष फरक कोर्समा नयाँ उचाइ हाासिल गर्‍यो । सहभागीले समेत कान्तिपुर हाफ म्याराथनबाट नयाँ आशा पलाएको बताएका छन् ।

शनिबार विहान काठमाडौंको सडकमा एउटा छुट्टै उत्साह थियो । रन फर नेपालको सन्देशसहित सेता जर्सीमा दौडिरहेका यी मानिसले दौड प्रतियोगीताको व्यापकतालाई उजागर गरेका थिए । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर हाफ म्यारथनको १४औं संस्करणका विजेता धावकले ३६ वर्ष पुरानो नेसनल रेकर्ड समेत तोडेका छन् । 

यसवर्ष सहभागिताको हिसाबले मात्र नभइ प्रविधिको प्रयोगमा पनि प्रतियोगिताले नयाँ फड्को मारेको छ । ४ हजार धावकमध्ये हाफ म्यारथनमा सहभागीले पहिलो पटक टाइमिङ चिप प्रयोग गरे । यसले धावकको प्रदर्शनलाई प्रविधिमैत्री र अन्तर्राष्ट्रियस्तरको बनाएको छ । 

काठमाडौंको, तिनकुनेबाट सुरु भएको २१ दशमलव १ किलोमिटरको दौड कोटेश्वर, जडिबुटी हुँदै भक्तपुरको जगाती पुगेर पुनः तिनकुनेमै आएर टुङ्गएिको थियो । यस पटकको उत्साहजनक सहभागितालाई नेपाली दौड संस्कृतिको ठूलो उपलब्धिको रूपमा व्याख्या गरिएको छ ।

विजेताहरुमा त्रिभुवन आर्मी क्लबका खेलाडीको वर्चस्व रह्याे। पुरुषतर्फका विजेता राजन रोकायाले संयोगबस सहभागी बन्दा विजयी भएको उल्लेख गरे । जुम्लाका रोकायाले राष्ट्रिय कीर्तिमान बनाउन आफू धावक बैकुण्ठ मानन्धरबाट प्रभावित रहेको बताए । 

एकपटक असफल हुँदैमा हार नमान्नु र लगातार मेहेनेत गरिरहे सफल भइने रोकायाको विश्वास छ । रणनीतिक तयारीमा नेपालकै अब्बल खेलाडी हुन सन्तोषी श्रेष्ठ । फरक फरक विधाका दौडको नियमित अभ्यासले आत्मविश्वास परिपक्व बनाएको उनको भनाइ छ । 

सन्तोषीले एकै वर्षभित्र म्याराथन, हाफ म्याराथन, पाँच हजार र १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान कायम गरेर नेपाली एथलेटिक्समा नयाँ इतिहास रचेकी छिन् । गोल्डेन गर्लको नामले परिचित सन्तोषीले कान्तिपुर हाफ म्याराथनमा ३६ वर्ष पुरानो नेसनल कोर्स रेकर्ड तोडिन र उपाधि रक्षा गरिन् ।

सन्तोषीले मिडिया हाउले आयोजना गरेको प्रतियोगिताबाट खेलाडीलाई प्रयोजकलगायतमा पनि सहयोग हुने आशा राखेको बताइन्। प्रतियोगितामा हाफ म्याराथनसहित चार विधाका खेलमा चार हजार सहभागी बने । यस्ता, सिटी म्याराथनले दौडको संस्कृति र स्वास्थ्यबारे पनि जनचेतना जगाउाछ । 

खेलाडीलाई अवसर त दिन्छ नै एकताको सन्देश समेत दिन्छ । यसकारण सरकारले समेत प्रतियोगिताको व्यवस्थापन मात्रै नभएर समग्र एथ्लेटिक्सको विकासमा रणनीतिक र दीर्घकालीन योजना बनाएर अघि बढ्नु आवश्यक छ ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनकाे स्पाेर्ट्स ब्युराेमा कार्यरत छन् ।