
काठमाडौं । बागमती प्रदेश जय ट्रफीमा छनोट हुन असफल भएको छ ।
प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेशसँग ३४ रनले पराजित भएपछि बागमती बुहुदिवसीय क्रिकेट प्रतियोगिताबाट वञ्चित भएको हो ।
स्पिनर निर्मल गुरुङले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई हराएको हो । यसअघिका दुवै सिरिज जय ट्रफीमा स्थान बनाए पनि सन्दिप लामीछानेको कप्तानीमा पहिलो पटक पीएम कप खेलेको बागमतीले यस पटक भने उक्त अवसर गुमाएको हो ।
जय ट्रफीका अघिल्ला २ सिजनमा पीएम कपका ४ टोलीले सहभागिता जनाएका थिए । नेपाल क्रिकेट संघ-क्यानले आमामी सिजन प्रतियोगितामा ६ टोलीको सहभागिता रहने निर्णय गरे पनि बागमतीले आठौं स्थानमा रहेर पीएम कप अन्त्य गर्यो । यस जितसँगै लुम्बिनीले शीर्ष छ मा रहँदै जय ट्रफीमा छनोट हुने सम्भावना कायमै राखेको छ ।
रामजानकी रंगशाला जनकपुरमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४५ ओभर २ बलमा सबै विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो । उसका लागि कप्तान देव खनालले ३७ , प्रज्वल थापाले ४६ र ,सन्तोष यादवले २५ रनको योगदान दिए ।
आकाश त्रिपाठीले सर्वाधिक ७२ रन जोडे । ७२ बलको सामना गरेका आकाशले ९ चौका र १ छक्का प्रहार गरेका थिए । बागमतीका लागी कप्तान सन्दीपले १० ओभरमा ४३ रन खर्चेर ४ विकेट लिए । जारी सिजन २५ विकेट लिएका सन्दीप सर्वाधिक विकेट लिने बलरको सूचीमा संयुक्त रूपमा शीर्ष स्थमानमा पुगेका छन् ।
विवेक मगरले ३ र रिजन ढकालले २ विकेट हात पारे । २ सय ३४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमती ४४ ओभरमा १ सय ९९ रनमा समेटियो । बागमतीका शीर्ष क्रमका ब्याटर चल्न सकेनन् । विवेक मगरले सर्वाधिक ४५ रन बनाए ।
उत्तम मगरले २३ र सन्दीप लामिछानेले ३२ रन बनाए । लुम्बिनीका लागी निर्मल गुरुङले १० ओभरमा ४ मेडनसहित २७ रन खर्च गरेर ५ विकेट लिए ।