
काठमाडौं । युएफा च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलका दोस्रो लेगका दुई खेल मंगलबार राति हुँदैछन् ।
मंगलबार राति हुने खेलमा लिभरपुलले साबिक विजेता पेरिस सेन्ट-जर्मेनसँग प्रतिस्पर्धा गर्नेछ भने स्पेनिस जायन्ट बार्सिलोनाले लिग प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडको मैदानमा खेल्नेछ । पीएसजी अहिले फिटनेस र फर्म दुवैमा बलियो देखिएको छ ।
गत वर्ष लिभरपुलको दबदबालाई तोडेको पीएसजी यसपटक पनि आत्मविश्वासका साथ मैदान उत्रिनेछ । त्यसैले समग्र प्रदर्शनलाई हेर्दा साबिक विजेता पीएसजीले सेमिफाइनलमा स्थान बनाउने प्रबल सम्भावना रहेको विश्लेषण गरिएको छ। साथै, यो खेल केही प्रमुख खेलाडीहरूका लागि युरोपेली प्रतियोगितामा लिभरपुलबाट अन्तिम उपस्थिति हुन सक्ने अनुमान गरिएको छ ।
पहिलो लेगमा घरेलु मैदानमै २-० ले पराजित भएपछि बार्सिलोनामाथि अब पुनरागमनको दबाब रहेको छ । प्रशिक्षक डिएगो सिमोओनको टोली एट्लेटिकोले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलतर्फ एक कदम अघि बढिसकेको छ, जहाँ विजेताले आर्सनल वा स्पोर्टिङ लिस्बनमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।
एट्लेटिकोको रक्षात्मक खेलशैली विगतजस्तो बलियो नदेखिए पनि सिमेओनेको वर्तमान टोली प्रतिद्वन्द्वीको आक्रमणलाई बराबरी जवाफ दिन सक्षम देखिएको छ । यता, यदि खेल ११-११ खेलाडीमै कायम रह्यो भने बार्सिलोनाले गोल गर्ने सम्भावना बलियो छ, तर घरेलु मैदानको फाइदा उठाउँदै एट्लेटिकोले कडा प्रतिकार गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गर्न सक्ने आकलन गरिएको छ।