
काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएलमा मंगलबार चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सको सामना गर्नेछ।
लिगको २२औं खेलमा आइपुग्दा चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा घरेलु टोली दोस्रो जितको खोजीमा हुनेछ। खेल नेपाली समयअनुसार राति ८ बजे सुरु हुनेछ। पाँच पटकको विजेता चेन्नई सुपर किंग्सको स्क्वाड पेपरमा बलियो देखिएको छ। पिचको अवस्था, टोलीको पछिल्लो प्रदर्शन र अघिका खेलमा हेड टू हेडका आधारमा चेन्नई जितको प्रमुख दावेदार मान्न सकिन्छ।
चेपक मैदान घरेलु टोली चेन्नईका लागि अनुकूल देखिन्छ। इतिहास हेर्दा यस मैदानमा पहिले ब्याटिङ गर्ने टोलीले करिब ५५ दशमवल ९१ प्रतिशत खेल जितेको तथ्यांक छ। सुक्खा पिचका कारण दोस्रो इनिङ्समा स्पिन बलिङ प्रभावकारी हुने भएकाले चेन्नईका नूर अहमद र अकिल होसिनको जोडी निर्णायक बन्न सक्ने आकलन गरिएको छ।
दिल्ली क्यापिटल्सविरुद्ध जित निकाल्दै चेन्नईले हारको श्रृंखला तोडेको छ । यता, कोलकाता चार खेलसम्म जितविहीन रहँदै दबाबमा छ। आन्द्रे रसेल बाहिरिएपछि कोलकाताको पावर हिटिङमा देखिएको कमजोरी अझै सुधार हुन सकेको छैन। चेन्नईको ब्याटिङतर्फ सञ्जु सामसन उत्कृष्ट लयमा छन्।
हालै उनले ५६ बलमा १ सय १५ रन बनाउँदै सिजनकै पहिलो शतक प्रहार गरेका थिए। स्पिनविरुद्ध उनको आक्रामक खेल शैलीले कोलकाताका सुनील नारायण र वरुण चक्रवर्तीको रणनीतिमा असर पार्न सक्ने देखिन्छ। त्यसैगरी, सुरुआती ओभरमै विकेट लिन सक्ने क्षमता भएका खलील अहमद चेन्नईका लागि महत्वपूर्ण हतियार सावित हुन सक्छन्।
चेन्नई र कोलकाताबीचको हेड-टू-हेडमा चेन्नई २०-११ ले अघि छ। औसत पहिलो इनिङ्स स्कोर बढ्दै गएकाले १ सय ७५ देखि १ सय ९० रन प्रतिस्पर्धात्मक मानिएको छ। त्यसैगरी १ सय ९५ भन्दा माथिको स्कोरले पछ्याउने टोली निकै दबाबमा पार्ने देखिएको छ।