.png&w=1000&height=550)
काठमाडौं । कराते प्रिमियर लिगमा रजत पदक जितेकी एरिका गुरुङ साेमबार स्वेदेश फर्किएकी छन्।
चीनको लेसनमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा पराजित भएपछि एरिकाले रजत पदक जितेकी थिइन्। एरिकाले लिगको फाइनलमा लगातार दोस्रो पटक हार ब्यहाेरेकी हुन्। २१ वर्षीया एरिका विश्व वरीयताको शीर्ष स्थानमा रहेकी काजकिस्तानकी सोफ्या बेरूल्तसेभासँग २-१ स्कोरले पराजित भइन् ।
उनलाई साेमबार राष्ट्रिय टिम तयारी समिति, नेपाल कराते संघका पदाधिकारी र नेपाल पुलिस एकेडेमीका खेलाडीले विमानस्थलमा स्वागत गरेका हुन्। प्रतियोगितामा स्वर्णको लक्ष्य राखेको भए र राम्रो फाइट गरेको भए पनि रजत पदकमा समेटिएको महशुस गरेको एरिकाले बताएकी छन्।
यसअघि गत जनवरीमा टर्कीको इस्तानबुलमा भएको प्रिमियर लिगको फाइनलमा पनि एरिका सोफ्यासँग पराजित हुँदै रजतमा रोकिएकी थिइन् । चिनिया भूमिमा सो हारको बदला लिने र स्वर्ण चुम्ने एरिकाको लक्ष्य यसपटक पनि सफल हुन सकेन ।
यद्यपि, प्रिमियर लिग जस्तो प्रतिष्ठित विश्वस्तरीय प्रतियोगितामा एरिकाको यो लगातार दोस्रो रजत पदक हो । फाइनलमा पुगेसँगै एरिकाको वरीयता बढ्ने प्रशिक्षक कुशलले बताएका छन्।