संसदीय समितिका निर्देशन सरकारले कार्यान्यवन गर्नुपर्छ : सांसदहरू

चैत्र ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसदीय समितिका निर्देशन सरकारले कार्यान्यवन गर्नुपर्छ : सांसदहरू

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले सरकारलाई ससदीय समितिप्रति जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको विकास तथा आर्थिक सुशासन समितिको सोमबार बसेको बैठकमा सांसदहरूले सरकारले समितिले दिएका निर्देशनहरू कार्यन्यनमा ल्याउनुपर्नेमा जोड दिएका हुन् । विगतका सरकारले संसदीय समितिले दिएका निर्देशनहरू नमान्दा देश र जनताले ठूलो क्षति भोग्नुपरेको उहाँहरूको भनाइ छ । 

नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले समिति कार्यकारी निकाय नभए पनि यसको निर्देशनलाई सरकारले मान्नुपर्ने बताउनु भयो । नयाँ सरकारले विगतका कमजोरी सुधार्दै समितिको सुझाव कार्यान्वयन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले हाल एउटै राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार भएकाले सुशासन र विकासमा अब कसैले अवरोध गर्न नसक्ने बताउनु भयो । 

समितिले सरकारलाई राम्रो कामको लागि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले प्रि–बजेट छलफल र नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरू समितिमै गहन रूपमा उठाउनुपर्ने बताउनु भयो । नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिनाले विकास, आर्थिक मामिला र सुशासन उच्च तथा गुणस्तरीय शिक्षाबाट मात्रै सम्भव रहेको बताउनु भयो । 

शिक्षामा सुधार बिना समृद्धि सम्भव नरहेको उहाँको भनाइ छ । समितिले उच्च र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्नुपने उहाँले बताउनु भयो । उहाँले नेपाल अति कम विकसित राष्ट्रबाट विकासशील चरणतर्फ उन्मुख भइरहेका बेला यसको चुनौती, सम्भावना र कमजोरी पहिचान गरी त्यसअनुसार नीति निर्माण गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद महन्थ ठाकुरले मधेश क्षेत्रको समस्या उठाउँदै राज्यको असमान विकासप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । मधेसमा हरेक वर्ष बाढी र सुख्खा दुवैको मार पर्ने गरेको उहाँको भनाइ छ । उहाँले बाढी र पहिरो दुवैको मारमा गरिब र तल्लो जीवनस्तरका नागरिक पर्ने बताउनु भयो । 

साथै उहाँले मधेशमा खानेपानी अभावको समस्याका बारेमा राज्यले ध्यान दिनुपने बताउनु भयो । उहाँले मधेशमा शिक्षाको गुणस्तर पनि खस्कँदै गएको उल्लेख गर्नुभयो । समिति सभापति कृष्णप्रसाद पौडेलले लोकतान्त्रिक पद्धतिअनुसार सबै पक्षको सहभागितामा नीति निर्माण प्रक्रिया अघि बढाइने बताउनु भयो । 

उहाँले मितिमा उठेका सुझावलाई समेट्दै प्रभावकारी कार्ययोजना तयार गरिने प्रतिबद्धता पनि जनाउनु भयो । बैठकमा समितिको भावी कर्ययोजनाका बारेमा छलफल भएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.