समस्याग्रस्त सहकारीका बचत फिर्ता सुरू : पहिलो चरणमा साना बचतकर्तालाई राहत

चैत्र ३०, २०८२ |सुशीला पाठक
समस्याग्रस्त सहकारीका बचत फिर्ता सुरू : पहिलो चरणमा साना बचतकर्तालाई राहत

विराटनगर । कोशी प्रदेश सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सुरू गरेको छ।

पहिलो चरणमा सोमबार सुनसरीको इटहरीस्थित अम्बे-कोशी बचत तथा ऋण सहकारी संस्थाका दुईसय ८७ जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन्। प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत गठित 'समस्याग्रस्त सहकारी व्यवस्थापन समिति' ले २० हजार रूपैयाँभन्दा कम बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखेर पहिलो चरणमा रकम फिर्ता दिन थालेको हो। 

इटहरीमा मुख्य कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारीमा नौ हजार पाँचसय ५९ जना सेयर सदस्य छन्। संस्थाको सेयर पुँजी चार करोड छ लाख रूपैयाँभन्दा बढी छ। सहकारीले बचतकर्तालाई ४२ करोड ६० लाख ९८ हजार रूपैयाँ फिर्ता गर्नुपर्ने दायित्व छ। तर, हालसम्म एक हजार एकसय ७३ जना बचतकर्ताले मात्र आफ्नो रकम फिर्ताका लागि आधिकारिक दाबी पेस गरेका छन्। 

उनीहरूको माग दाबी २४ करोड ८८ लाख रूपैयाँ बराबर रहेको समितिले जनाएको छ। अनुसन्धानका क्रममा संस्थाका तत्कालीन अध्यक्ष फणीन्द्रबहादुर पूर्वछाने नै मुख्य ऋणी रहेको भेटिएको छ। उहाँले सहकारीबाट करिब २० करोड रूपैयाँ ऋण लिएर व्यक्तिगत रूपमा रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको थियो। 

पहिलो चरणमा २० हजार मुनिको भुक्तानी सकिएलगत्तै एक लाख रूपैयाँसम्म बचत भएकाहरूको रकम फिर्ता गर्ने प्रक्रिया अगाडि बढाइने प्रदेश सरकारले जनाएको छ। लामो समयदेखि बचत फिर्ताको पर्खाइमा रहेका सर्वसाधारणका लागि सरकारको यो निर्णयले केही राहत मिलेको छ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।