संयमता अपनाउँदै न्यूनतम स्तरमै भाडादर वृद्धि गरेका छौं : बस्नेत

चैत्र ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
संयमता अपनाउँदै न्यूनतम स्तरमै भाडादर वृद्धि गरेका छौं : बस्नेत

काठमाडौं । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले युद्धका कारण इन्धनमा संकट देखिएको र प्रतिकूल परिस्थितिमा पनि अत्यन्त संयमता अपनाउँदै न्यूनतम स्तरमै भाडादर वृद्धि गर्नुबाहेक अन्य विकल्प नरहेको बताउनुभएको छ ।

हवाई सेवाको कुल सञ्चालन लागतको करिब ४० प्रतिशत हिस्सा इन्धनमा खर्च हुने गरेकोमा हालको मूल्यवृद्धिपछि यो अनुपात झन्डै ५० प्रतिशत हाराहारी पुगेको छ । यसका साथै अमेरिकी डलरको मूल्यवृद्धिका कारण जहाजका पार्टपुर्जा, मर्मतसम्भार, प्राविधिक जनशक्तिको तालिम तथा अन्य आवश्यक खर्चहरू पनि उल्लेखनीय रूपमा बढेका छन् । 

साेमबार राजधानीमा भएको पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष बस्नेतले हालको परिस्थितिमा इन्धनको मूल्य सामान्य हुन समय कुर्नुबाहेक अन्य विकल्प नरहेको बताउनु भयो । उहाँले बुद्ध एयरको कामकारबाहीलाई डिजिटल बनाउन लागिएको समेत जानकारी दिनुभयो ।

उहाँकाअनुसार यात्रुहरूले संकलित माइलेज प्वाइन्ट प्रयोग गरी बुद्ध एयरको मोबाइल एप वा वेवसाइटबाटै सजिलै टिकट काट्नसक्ने छन् । यसअघि यो सुविधा केवल सेल्स काउन्टर वा एयरपोर्ट काउन्टरमार्फत मात्र उपलब्ध थियो । कम्पनीकाअनुसार काठमाडौंबाट पोखरा उडानमा नन रिफन्डेबल टिकटबाट यात्रुले ११२ माइलेज प्वाइन्ट प्राप्त गर्छन् भने सोही बराबरको अर्को पोखरा–काठमाडौं उडान टिकटमा ११२ रूपैयाँसम्मको सहजै डिस्काउन्ट प्राप्त गर्न सक्छन् । 

यात्रुहरूलाई जुनसुकै प्लेटफर्म वा ट्राभल एजेन्सीबाट टिकट काट्दा आफनो रोयल क्लब नम्बर उल्लेख गर्न बुद्ध एयरले अनुरोध गरेको छ । यसले यात्रापछि प्राप्त हुने माइलेज प्वाइन्ट तथा डिस्काउन्टको सुविधा लिन सजिलो हुने बुद्ध एयरले विज्ञप्तिमा उल्लेख गरेको छ । 

रोयल क्लबका सदस्यहरूले सुपर मार्केट, ग्रोसरी पसल, होटल, रिसोर्ट, गिफ्ट सपबाट पनि माइलेज प्वाइन्ट प्रयोग गरी छुट प्राप्त गर्न सक्छन् । यसका लागि रोयल क्लबले विभिन्न साझेदार संस्थासँग सहकार्य विस्तार गरिरहेको र इच्छुकहरूलाई सहकार्यका लागि आह्वान समेत बुद्ध एयरले गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.