राष्ट्रिय बास्केटबल लिग : गोल्डेन गेट च्याम्पियन

आर्मी २१ अंकले पराजित
चैत्र २८, २०८२ |खेल ब्युरो
राष्ट्रिय बास्केटबल लिग : गोल्डेन गेट च्याम्पियन

काठमाडौं । दोस्रो संस्करणको राष्ट्रिय बास्केटबल लिगमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै गोल्डेन गेट इन्टरन्यास्नल च्याम्पियन बनेको छ । 

 त्रिपुरेश्वरस्थित राखेपको कवर्डहलमा शनिबार सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ९५-७४ को फराकिलो अन्तरले ले स्तब्ध पार्दै गोल्डेन गेटले पहिलो पटक उपाधि आफ्नो नाम गरेको हो ।

लिग चरणमा निकै बलियो देखीएको आर्मीविरुद्ध फाइनलमा आएर गोल्डेन गेटले बदला लिएको हो । खेलको पहिलो क्वार्टरमा गोल्डेन गेटले २४-१४ को अग्रता लिएर खेलको लय तय गरेको थियो । दोस्रो क्वार्टरमा १७-१२ को स्कोर गर्दै मध्यान्तर सम्म आफ्नो पकड झनै बलियो बनायो । 

खेलको उत्तरार्धमा आर्मीले केही सुधारिएको प्रदर्शन गरे पनि गोल्डेन गेटको आक्रमण रोक्न कठिन भयो । तेस्रो र चौथो दुवै क्वार्टरमा गोल्डेन गेटले समान २७-२७ अंक जोड्दै खेल आफ्नो पक्षमा पार्यो । आर्मीले तेस्रो क्वार्टरमा २५ र अन्तिम क्वार्टरमा २३ अंक जोडे तापनि ९५ अंकको विशाल लक्ष्य भेट्टाउन सकेन । 

सुदिप पौडेल क्षेत्रीले टिमका लागि सर्वाधिक १३ अंक जोडे । उनले खेलमा ३ वटा थ्री-पोइन्टर प्रहार गर्दै टिमको स्कोरलाई गति दिएका थिए । अजय कुशवाहाले आफ्नो तर्फबाट ४ अंकको योगदान दिए । समग्रमा, ९५ अंकको कुल स्कोर सहित गोल्डेन गेटले यो प्रतियोगितामा आफ्नो प्रभुत्व सिद्ध गरेको छ भने आर्मी क्लब ७४ अंकमा रोकिन पुग्यो ।