कृष्णप्रसाद भट्टराई स्मृति करातेमा एपीएफ र पुलिसको दबदबा

विभिन्न तौल समूहमा स्वर्ण वितरण
चैत्र २८, २०८२ |खेल ब्युरो
कृष्णप्रसाद भट्टराई स्मृति करातेमा एपीएफ र पुलिसको दबदबा

काठमाडौं । पाँचौं कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता २०८२ अन्तर्गत पुरुषतर्फ नेपाल एपीएफ क्लबका मिनबहादुर तामाङले ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् ।

उनले फाइनलमा मधेश प्रदेशका ऋतिक थिङलाई ७-० को एकपक्षीय नतिजामा पराजित गरे । यस्तै नेपाल पुलिस क्लबका एलोन श्रेष्ठले ५५ केजी तौल समूहको फाइनलमा बागमती प्रदेशका निशान घलेलाई ६-४ ले हराउँदै स्वर्ण हात पारे । एपीएफकै मोहमद शेखु आलमले ८४ केजी तौल समूहमा लुम्बिनी प्रदेशका बुद्धिकृष्ण घर्ती मगरलाई ७-० ले पराजित गर्दै उपाधि जिते । 

एपीएफकै राकेश मानन्धरले पुरुष ५० केजी तौल समूहको फाइनलमा गण्डकी प्रदेशका बमिन गुरुङलाई ६-१ ले हराउँदै स्वर्ण जिते । महिलातर्फ आर्मीकी प्रियंका शाहीले ५५ केजी तौल समूहमा पुलिसकी सविना श्रेष्ठलाई ७-२ ले पराजित गर्दै स्वर्ण पदक जितिन् । 

एपीएफकी अन्जली महर्जनले ५० केजी तौल समूहमा पार्वती श्रेष्ठलाई ९-१ ले हराउादै उपाधि हात पारिन् । नेपाल पुलिस क्लबकी वर्षा बुढामगरले ४५ केजी तौल समूहमा एपीएफकी आस्था लुहारलाई ९-० को फराकिलो अन्तरले हराउँदै च्याम्पियन बनिन् । पुलिसकै आशिका राईले ६८ केजी तौल समूहको निकै प्रतिस्पर्धात्मक फाइनलमा आर्मीकी सम्पदा केसीलाई १-० ले पराजित गर्दै स्वर्ण जितिन् ।

नेपाल पुलिस क्लबले महिला टिम कातामा स्वर्ण पदक जित्यो भने एकल कातातर्फ आर्मीकी सानुमाया थिङ र नेपाल पुलिस क्लबका सोनिम मानन्धरले स्वर्ण जिते ।