
काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२६ मा पञ्जाब किंग्सले तेस्रो जित हात पारेको छ ।
मुल्लापुरमा शनिबार सम्पन्न खेलमा पञ्जाबले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको हो । पञ्जाबले टस जितर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हैदराबादले विस्फोटक प्रदर्शन गर्दै २० ओभरमा ६ विकेट गुमाएर २ सय १९ रनको विशाल स्कोर तयार पारेको थियो ।
ओपनर अभिषेक शर्माले केवल २८ बलमा ५ चौका र ८ छक्कासहित ७४ रनको आक्रामक इनिङ्स खेले । उनलाई अर्का ओपनर ट्राभिस हेड ले राम्रो साथ दिए । हेडले २३ बलमा ३८ रन जोडे । यो जोडीले पहिलो विकेटका लागि १ सय २० रनको साझेदारी गरेको थियो ।
मध्यक्रममा हेनरिक क्लासेनले ३९ रन बनाए भने कप्तान ईशान किशनले २७ रनको योगदान दिए । पञ्जाबका अर्शदीप सिंह र शशांक सिंहले समान २-२ विकेट लिए । जवाफमा पञ्जाबले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
प्रियांश आर्या र प्रभसिमरन सिंहले ९९ रनको ओपनिङ साझेदारी गर्दै पञ्जाबलाई सानदार सुरुवात दिलाए । प्रियांश आर्याले ५७ रन र प्रभसिमरन सिंहले ५१ रनको अर्धशतकीय योगदान दिए । पञ्जाबको जितमा कप्तान श्रेयस अय्यर ६९ को अविजित अर्धशतकीय इनिङ्स खेले । हैदराबादका लागि शिवाङ कुमारले ३ विकेट लिए ।
यससँगै ४ खेलमा ७ अंक जोडेको पञ्जाब तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा २ अंकसहित हैदराबाद छैटौं स्थानमा छ । आईपीएलमा अहिले चेन्नाई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्सबिचको खेल जारी छ । दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि चेन्नाई अहिले ब्याटिङ गरिरहेको छ ।
आईपीएल २०२६ को प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट भइरहेको छ ।