
बाँके । थोरै लगानी, स्थानीय स्रोत साधनको सदुपयोग र निरन्तर मिहिनेतबाट सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १८ का वीरहादुर हमाल ।
उहाँले गड्यौला मल उत्पादनबाट आत्मनिर्भर बन्दै कृषि क्षेत्रमा सम्भावनाको नयाँ ढोका खोल्नुभएको छ। विगत १२ वर्षदेखि एभरेष्ट अर्गानिक एग्रो फार्म सञ्चालन गर्दै आएका वीरबहादुर हमालले गाईको गोबर, पराल र घरायसी जैविक पदार्थ प्रयोग गरी मल उत्पादन गर्दै आउनुभएको छ।
यो मलले माटोको उर्वराशक्ति बढाउँछ, बालीको गुणस्तर सुधार्छ र वातावरण संरक्षणमा सहयोग गर्छ। हाल साढे दुई कठ्ठामा ५४ वटा पीडमार्फत तीन महिनामा करिब १६० क्विन्टल मल उत्पादन भइरहेको छ। त्यसबाट उहाँले वार्षिक २०-२५ लाख रुपैयाँको कारोबार गर्नुहुन्छ।
उत्पादित मल करिब ५० प्रतिशत बाँकेमै प्रयोग हुन्छ भने बाँकी हिमाली तथा पहाडी जिल्लामा बिक्री भइरहेको छ। स्थानीय स्रोतको सदुपयोग गर्दै आम्दानी बढाउने र माटोको गुणस्तर सुधार्ने हो भने सुरूमा कम मात्रामा जैविक मल प्रयोग गर्नुपर्छ। विस्तारै यसको मात्रा बढाउनु लाभदायक हुने अनुभवी किसान बताउँछन्।
यसले रासायनिक मलको प्रयोग घटाएर बालीको गुणस्तर सुधार्ने र स्वास्थ्यमैत्री कृषि प्रवर्द्धन गर्न मद्दत गर्दछ। स्थानीय स्रोतको सदुपयोग, धैर्य र निरन्तर प्रयासबाट कृषिलाई व्यावसायिक र सम्मानजनक पेसा बनाउन सकिन्छ भन्ने उदाहरण वीरबहादुरको यो सफलताले पेस गरेको छ।
सरकारले रासायनिक मलको विकल्पमा गड्यौला मललाई प्राथमिकता दिएर प्रोत्साहनमुखी कार्यक्रम ल्याउन सक्यो भने यसले किसानको आम्दानी त बढाउँछ नै गुणस्तरीय कृषि उत्पादनमा समेत सघाउ पुग्ने देखिन्छ।