
काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२६ मा मंगलबार मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल गुवाहाटीस्थित बरसापारा क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुने छ । मुम्बईका लागि सबैभन्दा ठूलो चिन्ता कप्तान हार्दिक पाण्ड्याको स्वास्थ्य अवस्था हो । उनी अघिल्लो खेलमा बिरामी भएका कारण खेल्न सकेका थिएनन् । सुरुवाती २ खेल जितेको राजस्थान भने उत्कृष्ट लयमा छ ।
उसले चेन्नई र गुजरातको पराजित गरिसकेको छ । केकेआरलाई पराजित गर्दै सिजनको सुरुवात गरेको मुम्बई आफ्नो दोस्रो देलमा दिल्लीसँग पराजित भएको थियो । दुई टोलीबीचको अहिलेसम्म भएका ३० खेलमध्ये मुम्बईले १६ र राजस्थानले १४ खेल जितेको छ । गत सिजन भएको एक मात्र भेटमा मुम्बईले १ सय रनको फराकिलो जित हात पारेको थियो ।
मुम्बई इन्डियन्सको बलिङ प्रदर्शन यस सिजन कमजोर देखिएको छ । जसप्रित बुमराह टोलीका सबैभन्दा किफायती बलर भए पनि उनले अहिलेसम्म विकेट लिन सकेका छैनन् । शार्दूल ठाकुरले पहिलो खेलमा राम्रो प्रदर्शन गरे पनि पछिल्लो खेलमा महागो सावित भएका थिए ।
स्पिनतर्फ मिचेल स्यान्टनरले आफ्नो उपयोगिता प्रमाणित गरेका छन् । राजस्थान रोयल्सका लागि ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले उत्कृष्ट लयमा छन् । मध्यक्रममा ध्रुव जुरेलले टोलीलाई मजबुत बनाइरहेका छन् । बलिङतर्फ रवि बिश्नोई उत्कृष्ट लयमा छन् । उनले २ खेलमा ५ विकेट लिएका छन् ।
त्यसैगरी तुषार देशपाण्डेले अघिल्लो खेलमा अन्तिम ओभरमा राम्रो बलिङ गर्दै टोलीलाई जित दिलाएका थिए । कप्तान रियान परागको कप्तानी पनि प्रभावशाली देखिएको छ ।