
काभ्रे । जिल्लाको बनेपा नगरपालिका तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (निपा)को आयोजनामा सम्पन्न निपा स्पोर्ट अवार्ड २०८२ अन्तर्गत नगदसहित नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई सम्मानित गरिएको छ।
विभिन्न खेल विधाका २६ जना खेलाडीलाई जनही १५ हजार रूपैयाँ नगद तथा अवार्ड प्रदान गर्दै सम्मान गरिएको हो। नेपालमा खेलाडीहरूको मिहिनेतको कदर गर्ने महत्वपूर्ण राष्ट्रिय स्तरको सम्मानका रूपमा यस अवार्डलाई लिँदै आइएको छ। यसले खेल क्षेत्रको विकास र खेलाडीहरूको मनोबल अभिवृद्धिमा उल्लेखनीय भूमिका खेल्दै आएको छ।
हरेक वर्ष प्रदान गरिँदै आएको यो सम्मान यस पटक ऐतिहासिक महत्व बोकेको बनेपास्थित चण्डेश्वरी मन्दिर परिसरमा आयोजना गरिएको हो। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रामचरीत्र मेहतासहित विभिन्न खेलका खेलाडी, प्रशिक्षक तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पदाधिकारी र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव रामचरीत्र मेहताले यस्ता अवार्ड कार्यक्रमले खेलाडीहरूको योगदानको कदर गर्नुका साथै उनीहरूलाई अझ उत्कृष्ट प्रदर्शनका लागि प्रेरित गर्ने बताउनुभयो। उहाँले खेल क्षेत्रको विकासका लागि राज्य, स्थानीय तह र संघसंस्थाबीच सहकार्य आवश्यक रहेको पनि उल्लेख गर्नुभयो।
बनेपा नगरपालिकालाई स्थानीय आयोजकका रूपमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले जिम्मेवारी दिएको थियो। नगरपालिकाले बाजागाजासहित खेलाडीहरूको स्वागत गरेको थियो। साथै, कार्यक्रमका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै बनेपा र चण्डेश्वरी क्षेत्रको प्रचार–प्रसार गर्न बनेपाका मेयरले अपील गर्नुभएको छ।
मेयर शान्ति रत्न शाक्यले यस्ता अवार्ड कार्यक्रमले खेलाडीहरूको मनोबल बढाउन महत्वपूर्ण योगदान पुर्याउने बताउँदै आयोजकले प्रदान गरेको सहकार्यको अवसरप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। अवार्ड कार्यक्रममा २६ खेलाडीसँगै निपा पत्रकारिता पुरस्कार बाट वरिष्ठ फोटो पत्रकार उदिप्त सिंह क्षेत्रीलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा उपस्थिति अतिथिलाई बनेपा नगरपालिकाले मायाको चिनो समेत प्रदान गरेको थियो।