
काठमाडौँ । कप्तान शेर मल्लले पाँच विकेट हल पूरा गरेपछि जारी पीएम कपमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पीएम कपमा सुदूरको यो चौथो जित हो । गण्डकीका लागि विपिन खत्रीले ५ विकेट हल पुरा गरे पनि १ सय ९० रनको योगफल रक्षा गर्न पर्याप्त भएन ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदामा टस जितेर ब्याटिङ रोज्नु गण्डकीका लागि फलदायी सावित हुन सकेन । विपिन खत्रीको टोलीले ४९ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रनमात्र बनाउन सक्यो । ओपनर गौरव विकलाई १४ रनमा गुमाएको गण्डकीका लागि दोस्रो विकेटका रुपमा अर्जुन कुमाल र दिनेश बुढा मगरले ४९ रनको साझेदारी गरे । दिनेशले मात्र ४ रनमात्र बनाउन सके । राम्रो लयमा रहेका अर्जुनले ४४ रनको योगदान दिए । ५ खेलमा २ अर्धशतकसहित २ सय ४४ रन बनाइसकेका अर्जुन जारी पीएम कपको शीर्ष रनकर्ता समेत हुन् । दिपक डुम्रे २२, सुबास भण्डारी २४ र कप्तान विपिनले ३० रन बनाए । सुदूरका लागि सेरले १० ओभर बलिङ गर्दै १ मेडनसहित ४२ रन खर्च गरेर ५ विकेट लिए । २ विकेट लिएका हेमन्त धामीले जारी प्रतियोगितामा १४ विकेट पुरा गरे । उनी सर्वाधिक विकेट लिने खाडीको संयुक्त रुपमा शीर्ष स्थानमा पुगेका छन् ।
१ सय ९१ रनको लक्ष्य सुदूरपश्चिमले ३९ ओभर २ बलमा ८ विकेट गुमाएर पुरा गर्यो । खराव सुरुवात गरेको सुदूरपश्चिमले २४ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । दिपक बोहोरा र अभिषेक पालले चौथो विकेटका लागि ६८ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई जित नजिक पुर्याए । दिपकले ३५ रन जोडे । ओपनर अभिषेकले सर्वाधिक ६६ रनको अर्धशतकीय योगदान दिए । नारायण जोसी ४५ रनमा नटआउट रहे । गण्डकीका विपिन खत्रीले १० ओभरमा १ मेडनसहित ३६ रन खर्च गरेर ५ विकेट लिए ।
यससँगै ५ खेलमा ४ जीतसहित ८ अंक जोडेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलमा ३ अंकसहित गण्डकी नवौं स्थानमा छ ।