
काठमाडौँ । दुई वर्षदेखि शोक थामेर बसेको परिवारको एउटै माग छ– “हामीलाई केही चाहिएको छैन छोराको शव फर्काइदेऊ सरकार ।”
वैदेशिक रोजगारीमा साउदी पुगेका महोत्तरी रामगोपालपुर नगरपालिका-७ सहशौलाका २२ वर्षीय सुनील साहका परिवारको पुकार हो यो । सुनीलको मृत्यु भएको दुई वर्ष नाघिसक्दा पनि शव अझै नेपाल आइपुगेको छैन । राज्यका संयन्त्रहरूकै ढिलासुस्ती र बेवास्ताका कारण सुनीलको परिवार दुई वर्षदेखि अन्त्येष्टि गर्न नपाएर मानसिक, सामाजिक र आर्थिक यातना भोग्न बाध्य छ ।
सन् २०२२ को अप्रिलमा 'फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालि' मार्फत साउदी गएका सुनील रियाद नजिकको अल-खार्ज औद्योगिक क्षेत्रको एउटा कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । २०८० फागुन २८ गते कार्यस्थलमै भएको आगलागीमा परेर उहाँको मृत्यु भयो । तर, मृत्युपछि सुरु भएको सरकारी प्रक्रिया नटुंगिदा शव अझै साउदीमै अलपत्र छ ।
बुबा वीरेन्द्र छोराको शव ल्याउने आशामा दुई वर्षदेखि काठमाडौं धाएको धायै हुनुहुन्छ । कागजपत्र मिलानसँगै डीएनए जाँच गरिसक्दासमेत शव नआउँदा यो परिवार निराश छ । शव ल्याउने प्रक्रियाका लागि यो परिवारले पटक-पटक ऋण लिएको छ । तर, न शव आयो, न कुनै राहत, न क्षतिपूर्ति ।
यसैबीच वैदेशिक रोजगारीमा कुवेतमा रहँदा मृत्यु भएका दाङका खुशीराम चौधरी र सिरहाका रमेशकुमार मोचीको आज दाहसंस्कार भएको छ ।
गएराति भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको खुशीरामको शव बुझेर परिवारले आज दाह संस्कार गरेका हुन् । २० वर्षअघि कुवेत पुगेका गढवा गाउँपालिका २ का खुसीरामको गत फागुन ३० गते हृदयघातका कारण मृत्युको खबर पाएको बहिनी उर्मिला चौधरीले बताउनुभयो । कुवेती महिलासँगै विवाह गरेको र दुईजना छोराछोरी रहेको खबर पाए पनि उनीहरू अहिलेसम्म नेपाल नआएको घरपरिवारले बताएको छ । खुशीरामका ७५ वर्षका बुबा एक देशकदेखि पक्षघातका कारण अपाङ्ग जीवन बाँचिरहनुभएको छ ।
त्यस्तै कुवेतमा मृत्यु भएका सिरहाको सुखीपुर नगरपालिका-१ शिवनगरका रमेशकुमार मोचीको पनि आजै दाहसंस्कार भएको छ । रमेशको गत फागुन २० गते मृत्यु भएको थियो । उहाँ २१ महिनाअघि रोजगारीको शिलशिलामा कुवेत जानुभएको थियो । हिजो साँझ भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कुवेत एयरलाइन्सको विमानले दाङका खुशीराम र सिरहाका रमेशकुमारसहित कुवेतमा मृत्यु भएका ९ जनाको शव ल्याएको थियो ।