
सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्युको २७ दिनपछि अन्त्येष्टि गरिएको छ । दोषीलाई कारबाहीको माग गर्दै आएका परिवारले बिहीबार इनिशाको शव बुझेर वीरेन्द्रनगर-११ भेरी नदीमा अन्त्येष्टि गरेका हुन् ।
सामूहिक जबरजस्ती करणीपछि इनिशाको हत्या भएको दाबी गर्दै परिवारले शव बुझ्न मानेका थिएनन् । गएको मंगलबार सुर्खेत जिल्ला अदालतले आरोपी ४ जना नाबालकहरूलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाएपछि पीडितपरिवार इनिशाको अन्त्यष्टि गर्न सहमत भएका थिए ।
गएको फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी इनिशालाई घटनाको जानकारी पाएलगत्तै प्रहरी र परिवारले अस्पताल पुर्याएका थिए । अस्पतालमा इनिशाको मृत्यु भएको थियो । इनिसाको न्यायको लागि देशभर आन्दोलन भएको थियो ।
इनिशा मृत्यु प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबी र प्रहरीका विभिन्न ४ वटा टोलीले अनुसन्धान गरेको थियो । प्रहरी अनुसन्धान र पोस्टमोर्टम रिपोर्टले बलपूर्वक भएको शारीरिक सम्बन्धका कारण अन्त्यधिक रक्तश्राव हुँदा इनिशाको मृत्यु भएको देखिएको छ ।