
काठमाडौँ । अपराजित त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । आज सम्पन्न खेलमा आर्मीले मधेश प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा आर्मीको यो चौथो जित तथा मधेशको पहिलो हार हो ।
आर्मीको जितमा बसिर अहमदले सानदार अलराण्ड प्रदर्शन गरे भने तृतराज दाशले जारी प्रतियोगितामा आफ्नो तेस्रो अर्धशतक प्रहार गरे ।
रामजानकी बहुउद्देश्यीय रंगसालामा आर्मीले टस जितेर फिल्डिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको मधेशले ४८ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । ओपनर मयान यादव ५ र निरज यादव ९ रनमा गुमाएको मधेशका लागि कप्तान अनिल शाह र पवन सर्राफले तेस्रो विकेटको रुपमा ५३ रनको साझेदारी गरे । पवन २२ रनमा आउट भए । अनिलले ६० बल खेलेर २ चौका र २ छक्कासहित ४३ रन जोडे । विशाल सुशलिङले ७३ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाएको अर्धशतकीय योगदान दिए । आर्मीका लागि बसिरले ३ तथा साहब आलम र नरेन साउदले समान २-२ विकेट हात पारे ।
१ सय ८५ रनको लक्ष्य आर्मीले २९ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । ओपनर तृतराज दास र कप्तान विनोद भण्डारीले पहिलो विकेटको लागि ६७ रनको साझेदारी गरे । विनोदले ३२ रन बनाए । भीम सार्की ८ र र कुशल मल्ल २४ रनमा बाहिरिए । तृतले ७२ बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ६९ रनको अर्धयतकीय इनिङस् खेले । जारी प्रतियोगितामा उनको यो तेस्रो अर्धशतक हो । बसिर ४१ रनमा नटआउट रहे । मधेशका लागि मोहम्मद आदिल आलमले २ विकेट लिए ।
यससंगै ५ खेलमा ४ जितसहित ९ अंक जोडेको आर्मी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा ७ अंकसहित मधेश चौथो स्थानमा छ ।