आईपीएल : आज राजस्थान र चेन्नाई भिड्दै

चैत्र १६, २०८२ |खेल ब्युरो
आईपीएल : आज राजस्थान र चेन्नाई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२६ को तेस्रो खेलमा साेमबार राजस्थान रोयल्स र चेन्नाई सुपर किङग्स गुवाहाटीको बारसापारा क्रिकेट रंगशालामा भिड्दैछन् । 

खेल नेपाली समयअनुसार बेलुका पौने आठ बजे सुरु हुनेछ । विगतका सिजनहरूमा खराब प्रदर्शन गरेका यी दुई टोली यसपटक नयाँ रणनीति र जोसका साथ मैदानमा उत्रिँदैछन् । यस सिजनको सबैभन्दा ठूलो चर्चाको विषय खेलाडीहरूको 'ट्रेड' रहेको छ। 

राजस्थानका पूर्व कप्तान सञ्जु सामसन यसपटक चेन्नईको जर्सीमा देखिनेछन् भने चेन्नाईका मेरुदण्ड मानिने रविन्द्र जडेजा यस पटक राजस्थानको तर्फबाट खेल्नेछन् । सामसनलाई चेन्नाईले १८ करोड भारुमा टोलीमा भित्र्याएको हो । अर्कोतर्फ, राजस्थानको नेतृत्व युवा खेलाडी रियान परागले सम्हाल्दैछन्, जो आफ्नो घरेलु मैदानमा पहिलो पटक टोलीको पूर्ण-समय कप्तानका रूपमा उत्रिँदैछन् ।

चेन्नाईका लागि एउटा ठूलो झट्का भनेको भेट्रान खेलाडी महेन्द्रसिंह धोनीको अनुपस्थिति हो। धोनी चोटका कारण सुरुवाती दुई हप्ताका लागि मैदान बाहिर रहनेछन् । उनी नहुँदा विकेट किपिङको जिम्मेवारी सञ्जु सामसनले सम्हाल्ने सम्भावना छ । त्यस्तै, राजस्थानका साम करन पनि चोटका कारण बाहिरिएका छन् र उनको स्थानमा श्रीलङ्काली कप्तान दासुन शनाका टोलीमा छन् ।

यी दुई टोलीबीच अहिलेसम्म कुल ३२ खेल भएका छन् । जसमा दुवै टोलीले १६-१६ खेल जित्दै बराबरीको अवस्थामा छन् । ऐतिहासिक रूपमा बराबरी भए पनि पछिल्ला १० भेटमा राजस्थानले ८ खेल जितेर चेन्नाईमाथि दबदबा कायम राखेको छ । २०२५ को सिजनमा चेन्नाई १० औं र राजस्थान ९ औं स्थानमा रहँदै लिग चरणबाटै बाहिरिएका थिए । आइपीएलको कान्तिपुर म्याक्सले प्रि-म्याच एनालाईसीससहित आईपीएफ २०२६ को प्रत्यक्ष प्रसारण गरिरहेको छ ।