
काठमाडौं । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा गण्डकी प्रदेशले पहिलो पटक विभागीय टिमविरूद्ध जित हात पारेको छ ।
आइतबार सम्पन्न खेलमा गण्डकीले राष्ट्रिय टिमका खेलाडीहरूको वर्चस्व रहेको नेपाल एपीएफ क्लबलाई ४३ रनले स्तब्ध पारेको हो । जारी प्रतियोगितामा गण्डकीको यो पहिलो जित हो । मुलपानीको तल्लो मैदानमा वर्षाले भिजेको आउटफिल्डका कारण खेल २१-२१ ओभरमा झारिएको थियो ।
टस जितेर पहिला ब्याटिङ गरेको गण्डकीले निर्धारित २१ ओभरमा ७ विकेट गुमाएर १ सय ५० रनको योगफल तयार पारेको थियो । गौरभ विक र अर्जुन कुमालले ६३ रनको ओपनिङ साझेदारी गर्दै गण्डकीलाई सानदार सुरूवात दिलाए । गौरभ ३७ रनमा आउट भए ।
उत्कृष्ट लयमा रहेका अर्नुनले २५ रनको योगदान दिए । यससागै उनले जारी सिजन २ सय रन पूरा गरेका छन् । हाल उनी शीर्ष रनकर्ताको दोस्रो स्थामना छन् । दिपक डुम्रे ३४ र दिनेश बुढामगरले १९ रनको यनोगदान दिए । कप्तान विपिन खत्री २० रनमा नटआउट रहे । एपीएफका लागी अभिनास बोहोराले ३ विकेट लिए ।
१ सय ५१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफ १८ ओभर ३ बलमा १ सय ७ रनमा समेटियो । उसका लागि लोकेश बम र आसिफ शेखले समान १४-१४ रन मात्र बनाउन सके । खराव लयमा रहेका कप्तान रोहित पौडेलको ब्याट यस खेलमा पनि चल्न सकेन ।
३ रन बनाएका रोहितलाई अपराजित पौडेलले पेवलियनको बाटो देखाए । सुमित महर्जन २२ र कमलसिंह ऐरी १७ रनमा बाहिरिए । गण्डकीको जितमा अपराजित र सीब्रिन श्रेष्ठले समान ३-३ विकेट लिए । यससँगै सिजनको पहिलो जित हात पारेको गण्डकीले ४ खेलमा ३ अंक जोडेको छ । उ लिगको ८औं स्थानमा उक्लिएको छ । समान खेलमा ३ अंकनै जोडेको एपीएफ सातौं स्थानमा छ ।