
धनुषा । पश्चिम एसियामा जारी युद्धका कारण नेपालमा पनि इन्धनमा भएको भारी मूल्य वृद्धिका कारण पूर्वपश्चिम महेन्द्र राजमार्गको स्तरोन्नतिको काम प्रभावित भएको छ ।
देशको समग्र अर्थतन्त्रका सूचक नकारात्मक रहेको विषम अवस्थामा आइतबार पेट्रोलमा एकैपटक प्रतलिटिर २१ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रूपैयाँ वृद्धि भएका कारण निर्माण भएको ५६ वर्षपछि मधेश प्रदेशमा भइरहेको ६ लेन र ४ लेन स्तरोन्नतिका काम प्रभावित भएको हो ।
इन्धनको भाउ बढेसँगै बालुवा, गिट्टी, माटोलगायत निर्माण सामग्री ढुवानी र सडक विस्तारको काममा प्रत्यक्ष असर परेको छ । २०२६ सालमा निर्माण भएको यो पूर्वपश्चिम महेन्द्र राजमार्गको कमला-ढल्केबर-पथलैया सडक योजनाको पूर्वी खण्डअन्तर्गत विश्व बैंकको १८ अर्ब ९ करोडको लागतमा धनुषा, महोत्तरी र सर्लाहीमा साढे ११ किलोमिटर ६ लेन र साढे ६४ किलोमिटर ४ लेन सडक विस्तारको काम भइरहेको छ ।
निकै व्यस्त रहने राजमार्ग क्षेत्रमा दुर्घटना न्यूनीकरणसँगै सहज सवारी आवागमन सुनिश्चित गर्ने लक्ष्यसहित जारी सडक स्तरोन्नतिको कार्यअन्तर्गत कमला र बागमतीको पुलबाहेक ३४ मध्ये ३१ वटा पुलको फाउन्डेसनको काम सम्पन्न भएको छ । एक सयमध्ये ३६ वटा कल्भर्ट निर्माण हुन अझै बाँकी छन् ।
सडक विस्तारका लागि राजमार्ग क्षेत्रमा रहेका रूख, बिजुलीको पोल, सेना र प्रहरीको संरचनाका साथै व्यक्ति विशेषले कब्जा गरी बस्दैआएका घर टहरा समयमा नहटाएपछि भौतिक प्रगति भने संतोषजनक छैन । २०२५ जनवरी १ बाट सुरू भएको राजमार्ग स्तरोन्नतिको काम २०२७ डिसेम्बर ३१ अर्थात् ३ वर्षभित्र पूरा गरी सक्नुपर्ने सडक योजना र निर्माण कम्पनीबीच सम्झौता छ । तर, १५ महिना पुग्नलाग्दा ३५ प्रतिशत नाघ्नुपर्नेमा हालसम्म १८ दशमलव ६९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
धनुषाको कमला पुलदेखि जमुनीबास, जमुनीबासदेखि सर्लाहीको फुलजोर र फुलजोरदेखि रौतहटको सीमा बागमती पुलसम्मको तीन चरणको छुट्टाछुट्टै ठेक्का लागेको छ ।