आईपीएलमा आज मुम्बई र कोलकाता भिड्दै

चैत्र १५, २०८२ |खेल ब्युरो
आईपीएलमा आज मुम्बई र कोलकाता भिड्दै

काठमाडौं । आईपीएल २०२६ मा पाँच पटकको विजेता मुम्बई इन्डियन्सले छैटौँ उपाधि जित्ने लक्ष्यसहित आइतबार आईपिएलमा सुरुआत गर्दैछ। 

सन् २०२४ को विजेता कोलकाता नाईट राइडर्सले पनि आइतबार अवे मैदानमा खेल्दै प्रतियोगिता सुरू गर्नेछ। आद्रता धेरै भएको कारण र फास्ट बलरलाई सहयोग गर्ने पिच भए पनि मुम्बईको वान्खेडे रंगशालामा ठूलो स्कोरको अपेक्षा गरिएको छ। 

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बईले सन् २०२० यता उपाधि जित्न सकेको छैन। कोलकाताले भने यो संस्करणमा चौथो उपाधि जित्ने लक्ष्य राखेको छ। यो खेल पौने ८ बजे सुरू हुनेछ। हेड-टू-हेड तथ्यांकमा यी दुई टोलीबीच अहिलेसम्म भएका ३५ खेल मा मुम्बईले २४ खेल जितेको छ। 

कोलकाताले ११ खेलमा सफलता हात पारेको छ। वान्खेडे मैदानमा त मुम्बई अझै बलियो छ। यो रंगशालामा १२ खेलमध्ये घरेलु टिमले १० खेलमा मा जित हात पारेको छ। आईपीएल २०२४ मा यी दुईबीचको एक स्मरणीय खेलमा कोलकाताले मुम्बईविरुद्ध १२ वर्षपछि मुम्बईमै जित निकालेको थियो। 

यो खेलमा मुम्बई १८ दशमवल ५ ओभरमा १ सय ४५ रनमै अलआउट भएर पराजित भएको थियो। मुम्बईका विल ज्याक्स र मिचेल सान्टनरले विश्राम मागेका कारण यो खेल गुमाउनेछन्। यता जसप्रित बुमराह भने फिट हुँदै सिजनको पहिलो खेल खेल्ने तयारीमा छन्। 

रोहित शर्माले पुनः ओपनरका रूपमा इनिङ्स सुरू गर्नेछन्। अर्का ओपनर क्विन्टन डि कक र रायन रिकेल्टनबीच प्रतिस्पर्धा हुने सम्भावना छ। कोलकातामा भने फास्ट बलरको अभाव छ। प्रमुख पेसर हर्षित राणा र आकाश दीप चोटका कारण पूरै प्रतियोगिताबाट बाहिरिएका छन्। 

यी खेलाडीको स्थान पूर्ति गर्न कोलकाताले नवदीप सैनीलाई हर्षित राणाको विकल्पका रूपमा भित्र्याएको छ भने सौरभ दुबेले आकाश दीपको स्थान लिएका छन्। साथै आईपीएल २०२६ मिनी अक्सनपछि बंगलादेशका पेसर मुस्ताफिजुर रहमानलाई रिलिज गरेपछि कोलकाताले जिम्बाबेका ब्लेसिङ मुजराबानीलाई टोलीमा अनुबन्ध गरेको छ।