
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम विदेश पुगेपछि अखिल नेपाल फुटबल संघ-एन्फाले सिनियर टिमको नामावली सार्वजनिक गरेको छ।
एन्फाले आइतबार बिहान लाओससँग एएफसी एसियन कप छनोट खेल्ने नेपाली टिमको अन्तिम नामावली सार्वजनिक गरेको हो। मुख्य प्रशिक्षक गुलिएल्मो एरिनाले नेपाली टिममा अहिले सबैभन्दा धेरै गोल गरेका अन्जन विष्टलाई टिमबाट बाहिर राखेका छन्।
एनआटीबाट राष्ट्रिय लिग खेलेका उनी अहिले टिममा छैनन्। युवराज खड्का, मिलन राई, दिपेश गुरुङ, पेम्बा दोर्जे लामा, योगेश धिमाललगायत युवा खेलाडीदले स्थान बनाएका छन्। किरण कुमार लिम्बूको कप्तानीमा रहेको टिममा अभिषेक लिम्बू, आदित्य शाक्य, अनन्त तामाङ, आयुष घलान, विमल पाण्डे, विसाल सुनार, जिलेस्पी जंग कार्की, कृतिस रत्न छुन्जु, मणि कुमार लामा र मनिष डाागी रहेका छन्।
टिमका बाँकी खेलाडीमा रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सनिस श्रेष्ठ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ रहेका छन्। नेपाली राष्ट्रिय फुटबल टिम भने यतिबेला लाओस पुगिसकेको छ। यही चैत १७ गते नेपाल फुटबल टिमले छनोटको तेस्रो चरणमा लाओससाग दोस्रो लेगको छनोट खेल्ने तालिका थियो।
त्यसका लागि मूख्य प्रशिक्षक गुलिएल्मो इरिनाले ४९ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएका थिए। एन्फा निर्वाचनमा होमिएका कारण एन्फाले खेलाडीको दोस्रो सूची र अन्तिम सूचीसमेत सार्वजनिक गरेको थियो। राष्ट्रिय टिमलाई बिदाइसमेत नगरिकनै छनोट खेल्न शनिबार विदेश पठाइएको थियो।
अहिले राष्ट्रिय खेलकुद परिषद्ले निलम्बन गरेपछि आफूले तीन महिनासम्म केही काम नगर्ने एन्फाले बताउँदै आएको छ। घरेलु प्रतियोगिता ठप्प भए पनि अहिले यू-२० फुटबल टिम र सिनियर फुटबल टिम विदेश यात्रामा छन्।