वैशाख २६ गते जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौं संस्करण हुने

चैत्र १५, २०८२ |खेल ब्युरो
वैशाख २६ गते जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौं संस्करण हुने

जुम्ला । जुम्लामा आगामी वैशाख २६ गते जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौं संस्करण हुने भएको छ। 

कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा जुम्ला-रारा अल्ट्रा म्याराथन हुन लागेको हो । खेलकुदका माध्यमबाट कर्णालीको सुन्दरता चिनाउन र खेलाडीहरूको प्रतिभा पहिचानको लागि हरेक वर्ष जुम्ला-रारा म्याराथन हुँदै आएको छ। 

यो म्याराथनमा स्थानीय, राष्ट्रिय र विदेशी खेलाडीहरू समेत आउने गरेका छन् । धावक हरिबहादुर रोकायाले जुम्ला-रारा म्याराथन दुर्गमका युवाहरूलाई एथ्लेटिक्समा आकर्षण गर्ने माध्यम बनेको बताए । उनकाअनुसार अहिलेसम्म जुम्ला-रारा म्याराथनमा उपाधि जितेका खेलाडीहरू देशविदेशमा हुने म्याराथनहरूमा सहभागी बनेर राम्रो स्थानसमेत ओगटिरहेका छन् । 

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य चन्दननाथ भैरवनाथ मन्दिरदेखि सुरू हुने म्याराथन डाँफेलेक, काभ्रागुफा, भुलभुले हुँदै चुचेमाराको लेक भएर रारातालमा पुगेर सकिनेछ । म्याराथनमा सहभागी स्थानीय खेलाडीहरूको लागि दर्ता शुल्क तीन हजार रुपैयाँ तोकिएको छ । 

अन्य धावकहरूका लागि पाँच हजार रूपैयाँ दर्ता शुल्क तोकिएको अध्यक्ष सरोज शाहीले जानकारी दिए । पहिलो हुनेले एक लाख, दोस्रोले ७५ हजार र तेस्रो हुने खेलाडीले ५० हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।