ओलीलाई थुनामुक्त गर्न सर्वाेच्चद्वारा अस्वीकार

चैत्र १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
ओलीलाई थुनामुक्त गर्न सर्वाेच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफसमेत माग गर्ने आदेश गरेको हो । न्यायाधीश मेघराज पोखरेलको इजलासले यस्तो आदेश गरेको हो । यसअघि सर्वोच्चले पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको निवेदनमा पनि कारण देखाउ आदेश जारी गरेको थियो । अदालतले उनीहरूलाई पक्राउ गर्नुको कारणसहित बहसका लागि अदालत उपस्थित हुन सरकारी पक्षलाई पनि भनेको छ ।

ओलीका तर्फबाट श्रीमती राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् । शनिबार प्रहरीले २३ र २४ भदौको घटनामा छानबिनका लागि ओली र लेखललाई पक्राउ गरेको थियो । त्यसविरूद्ध परिवारले सर्वोच्चमा गैरकानुनी रूपमा थुनामा राखेको भन्दै निवेदन दिएको थियो ।

शनिबार दुवै नेताहरूलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ परेको थियो । २३ र २४ भदौको जेन-जी आन्दोलनका क्रममा बल प्रयोग गरे अभियोगमा कर्तव्य ज्यानमा अनुसन्धान गर्न उहाँहरूलाई पक्राउ गरिएको थियो । आइतबार जिल्ला अदालत काठमाडौंले उहाँहरूलाई पाँच दिन अनुसन्धानका लागि थुनामा राख्ने अनुमति पनि दिइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.