
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले निर्वाचनपछि संसद्मा उपस्थिति न्युून भए पनि प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई आग्रह गर्नुभएको छ ।
सोमबार नवनिर्वाचित सांसदहरूलाई बधाइ दिन आयोजित कार्यक्रममा उहाँले पार्टीको इतिहास, आदर्श र जनताको हितलाई केन्द्रमा राखेर संसद्मा आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो । उहाँले संविधान संशोधनको मुद्दा उठेकोले संसद्मा प्रवेश गर्नसक्ने बताउनु भयो ।
उहाँले पार्टीका सांसदहरूलाई राष्ट्रियता, स्वाभिमान र संविधानका मौलिक अधिकारमा कुनै सम्झौता नगर्न आग्रह गर्नुभयो । संविधान संशोधनको विषय आफूहरूले पनि उठाएको भए पनि त्यसमा प्रगति हुन नसकेको उहाँको भनाइ छ । उहाँले संविधान संशोधन जनताको हितलाई केन्द्रमा राखेर हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले लोकतान्त्रिक आन्दोलनको विरासत बोकेको कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षा, कार्यान्वयन र नागरिक अधिकारको सुनिश्चिततामा दृढतापूर्वक उभिने स्पष्ट पार्नुभयो । संख्या कम भए पनि वैचारिक बल र ऐतिहासिक जिम्मेवारी कांग्रेसको ठूलो रहेको उहाँको भनाइ छ ।
उहाँले सांसदहरूलाई जनताको पक्षमा दरिलोसाथ संसद्मा प्रस्तुत हुन पनि निर्देशन दिनुभयो । संसद्मा चाहिने आवश्यक ज्ञान र सहयोग दिन आफूहरू तयार रहेको पनि उहाँको भनाइ छ । उहाँले राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका बीचमा एकता कायम राखेर अगाडी बढ्न पनि आग्रह गर्नुभयो ।