रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

चैत्र १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरूद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्ध दायर रिट निवेदनमा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले आइतबार पूर्ण इजलासमा सुनुवाइ हुने आदेश दिनुभएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो । मङ्गलबारदेखि सुनुवाइ सुरू भए पनि नसकिएपछि हेर्दाहेर्दैमा आइतबारका लागि राखिएको थियो ।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको थियो । साथै, आइतबारका लागि पेसी तय भएको थियो ।

यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो । महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्नुभएको थियो । 

उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.