इएफएल कपको फाइनलमा आज आर्सनल र म्यानचेस्टर सिटी भिड्दै

चैत्र ८, २०८२ |खेल ब्युरो
इएफएल कपको फाइनलमा आज आर्सनल र म्यानचेस्टर सिटी भिड्दै

काठमाडौं । इंग्लिस फुटबलको प्रतिष्ठित नकआउट प्रतियोगित इएफएल कपको फाइनलमा आइतबार आर्सनलले म्यानचेस्टर सिटीको सामना गर्नेछ। 

३२ वर्षपछि पहिलो कपको उपाधि जित्ने दाउमा रहेको आर्सनलले राति सवा १० बजे म्यानचेस्टर सिटीको सामना वेम्बली रंगशालामा गर्नेछ। अहिले आर्सनलको टिममा रहेका कुनै खेलाडी पछिल्लो पटक आर्सनलले उपाधि जित्दा जन्मिएका थिएनन्। उसले सन् १९८७ मा पछिल्लो पटक इएफएल कपको उपाधि जितेको थियो। 

यता सिटीले भने पछिल्लो नौ वर्षमा चार उपाधि जितेको छ। ऊ पछिल्लो दशकमा पाँचौं उपाधिको खोजीमा हुनेछ। समग्रमा सिटीले ८ पटक र आर्सनलले दुई पटक यो प्रतियोगिताको उपाधि जितेका छन्। आर्सनलका प्रशिक्षक मिकेल आर्टेटालाई आज ऐतिहासिक अवसरसमेत छ किनभने उनी आफ्नो पहिलो दुई ठूला फाइनल जित्ने पहिलो आर्सनल प्रशिक्षक बन्ने संघारमा छन्। 

टोलीसमेत उत्कृष्ट लयमा छ र सबै प्रतियोगिताका पछिल्ला १४ खेलमा अपराजित छ। अर्कोतर्फ, पेप ग्वार्डिओलाको नेतृत्वमा म्यानचेस्टर सिटी २०२२-२३ को च्याम्पियन्स लिग जितेपछि पहिलो ठूलो उपाधि जित्ने लक्ष्यमा छ। तर, पछिल्ला खेलमा अपेक्षित प्रदर्शन गर्न नसक्दा सिटी दबाबमा छ। 

च्याम्पियन्स लिगमा रियल म्याड्रिडविरुद्धको पराजयपछि बाहिरिएसँगै उसलाई दबाब बढेको हो। इतिहास हेर्दा सिटीको पक्ष बलियो छ। उसले नौमध्ये आठ पटक इएफएल कप फाइनल जितिसकेको छ र लगातार सात फाइनलमा जित हात पारेको छ। ग्वार्डिओला पनि पाँच पटक यो प्रतियोगिता जित्ने पहिलो प्रशिक्षक बन्ने लक्ष्यमा छन्। तर, पछिल्ला भेटमा आर्सनलको पकड बलियो देखिएको छ। 

सिटीले आर्सनलविरूद्ध पछिल्ला छ खेल जित्न सकेको छैन। यसले फाइनललाई अझ रोचक बनाएको छ। अहिले आर्सनलका केही खेलाडी चोटका कारण अनुपस्थित रहने छन् भने सिटीका लागि एर्लिङ हालान्डले वेम्ब्लीमा पहिलो गोल गर्ने लक्ष्य राखेका छन्। प्रशिक्षक ग्वार्डिओलाले गोलकिपरको रूपमा जेम्स ट्राफोर्डलाई अवसर दिने पुष्टि गरेका छन्।