चुरेका सामुदायिक वनले बढायो पानीको स्रोत, मधेशका समुदाय समृद्ध हुँदै

चैत्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
चुरेका सामुदायिक वनले बढायो पानीको स्रोत, मधेशका समुदाय समृद्ध हुँदै

काठमाडौं । तराई मधेशमा पानीका स्राेत बढाउँदै महिला, आदिवासी जनजाती र विपन्न समुदायको जीविकोपार्जनमा सुधारमा चुरे क्षेत्रका सामुदायिक वनको भूमिका प्रभावकारी देखिएको छ । 

चुरेको फेदीमा रहेका सामुदायिक वनका उपभोक्ताको सक्रियताले वन क्षेत्र हराभरा हुँदा जलाधार तथा सिमसार संरक्षण मात्रै भएको छैन, स्थानीय बासिन्दाको आर्थिक सम्वृद्धिमा पनि टेवा पुगेको छ । मधेश प्रदेशका विभिन्न जिल्लामा सञ्चालित जलाधार तथा जैविक विविधता संरक्षण अभियानले चुरे क्षेत्रको पारिस्थितिकीय संरक्षण तथा सामाजिक न्यायसँगै समुदायको आर्थिक हैसियत नै सुधारेको हो । 

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा रहेका मोहनपुर, मझौं, मालती महिला र वसन्तपुर लगायतका सामुदायिक वनले चेरे क्षेत्रमा पानीको स्राेत बढाउँदै स्थानीय उपभोक्तालाई कृषि र पशुपालनमा सघाएका छन् । सामुदायिक वनमा समुदायसँग सहकार्य र दातृ निकायसँगको सहयोगमा जलाधार व्यवस्थापन, वृक्षरोपण तथा जैविक विविधता संरक्षण परियोजना अघि बढाउँदा मौली गाउँ नमुनाका रुपमा अघि बढेको छ। 

जलाधार क्षेत्र संरक्षण अभियानले कुनै बेलाको सुख्खा गाउँमा अहिले घर-घरमा पानीका धारा छन् भने खेती र पशुपालन झन मौलाएको छ । मौलीका ६ सय घरधुरीले दैनिक ६ देखि ७ हजार लिटर दूध उत्पादन गर्छन भने सामुदायिक वनमा जोडिएर पशुपालन थालेपछि आफैले दुग्ध सहकारी चलाएका छन् । मासिक ४० देखि ५० हजार बचत नगर्ने कुनै घर छैन ।

सिमसार तथा जलासय संरक्षणले कृषि वनमा आधारित रहेर आँप, लिची, कटहर लगायतका फलफूल र तरकारी खेतीलाई पनि सघाएको छ । सामुदायिक वन उपभोक्ता महासंघले जलाधार क्षेत्र संरक्षण अभियान अघि बढाएपछि मधेशको दक्षिण क्षेत्रमा पानीको श्रोत बढ्दै जान थालेको छ । 

चुरे- तराई- मधेश समिति प्रभावहीन बनेको र समुदायले वन तथा जलाधार क्षेत्र संरक्षण गर्दा चुरे क्षेत्रकै स्वरुप फेरिन थालेको दाबी गर्दै फेकोफनले चुरे व्यवस्थापनको जिम्मा समुदायलाई नै दिनुपर्नेमा पनि जोडदिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.