
जुम्ला । जुम्लामा सरकारी जहाजले नियमित उडान नभर्दा यात्रुहर" मर्कामा पर्ने गरेका छन् ।
व्यवसायिक उडान भन्दै निजी एयर कम्पनीहरू पूर्वतिर जान थालेपछि कर्णालीमा सरकारी जहाजले मात्रै उडान भर्ने गरेको हो । नियमित तालिकाअनुसार नेपालगञ्जदेखि सातामा तीन र सुर्खेतदेखि दुई उडान भर्ने तालिका छन् । तर, त्यही तालिका अनुसार जहाज नआउने भएपछि यात्रुहरू अलपत्र पर्ने गरेका छन् ।
आइतबार नेपाल एयरलाइन्सको उडान नेपालगञ्जदेखि जुम्लाका लागि तोकिएको थियो । जहाज उड्न थालेको भन्दै यात्रुहरू विमानस्थल पुगेर सामान चेकजाँच गरेर बसेका थिए । तर, एक्कासी मौसमको खराबी देखाउँदै उडान रद्द भएको जानकारी दिए पनि यात्रुहरू आक्रोशित बने । फलस्वरूप उनीहरूले विमानस्थल बाहिर रहेको नेपाल एयरलाइन्स कम्पनीको कार्यालयमा ताला लगाएका छन् ।
यो उनीहरू विमानस्थल आइपुगेको पहिलोपटक थिएन । निरन्तर नौ दिनदेखि विमानस्थल आउँदै सामान चेक गराउँदै जहाज नआएर फर्किने गरेका थिए । आइतबार त मौसम पनि ठिकै थियो । आकाशमा बादल थिएन । हावा पनि कमै लागेको थियो, यात्रुका आफन्त चन्द्रलाल न्यौपानेले भन्नुभयाे, ‘यहीबेला जहाज आउन सकेन । बिरामीहरू घर फर्किए । यात्रुहरू आन्दोलनमा उत्रिन बाध्य भए ।’
तातोपानी गाउँपालिका-४ की २४ हप्ते गर्भवती संगिता सार्कीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले रेफर गरेको थियो । एक महिनासम्म प्रतिष्ठानमा उपचार गराइरहेकी उहाँलाई थप उपचारको लागि रेफर गरेको कागजसहित विमानस्थलमा पुर्याइएको थियो । तर, जहाज नआउँदा उहाँ फर्किनुभयाे ।
संगिताले भन्नुभयाे, ‘डक्टरले अवस्था गाह्रो देखाउनु भएको छ । आउने भनेको जहाज पनि आइपुगेन । समस्यामा छौं ।’ संगितालाई चैत २ गते नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेको थियो । कर्णाली राजमार्ग कच्ची भएकोले गर्भवती लैजान मिलेन । एकमात्र जहाजको पर्खाइमा रहेको उहाँको परिवारले जनाएको छ ।
एक महिनादेखि खुट्टाको समस्या भएका चन्दननाथ १० का भुवन देवकोटा फागुन १७ गतेदेखि जहाजको पर्खाइमा हुनुहुन्छ । उहाँले नेपाल एयरलाइन्सको टिकट पाएका छन तर उड्न पाएका छैनन् । सरकारी जहाजले दुर्गममा उडान नगरेर सास्ती दिइरहेको उहाँको आरोप छ । अहिले निजी जहाज पनि चलेका छैनन । सबै पर्यटक ओसार्न पूर्वतिर केन्द्रित छन् ।
डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाकी भगवती रोकाया स्तन शल्याक्रिया गरेर थप उपचारका लागि काठमाडौं जाँदै हुनुहुन्थ्याे । नौ दिनदेखि विमानस्थल धाइरहेकी उहाँ जान पाउनुभएन । उहाँले भन्नुधयाे, ‘जहाज आउने आशाले खुसी भएर विमानस्थल पुग्यौं । एकाएक रद्द भएको खबरले निराशा बनाइदियो ।’
सहायक प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले जहाज नियमित गराउन बायुसेवा निगम र सरोकारवाला निकायसंग छलफल सुरू भएको बताउनुभयाे । विमान सेवा अवरूद्ध हुँदा कर्णालीका विकट जिल्लाका जनताले ज्यान जोखिममा राखेर महंगोमा निजी जहाज वा कठिन सडक यात्रा रोज्न बाध्य भएको स्थानीयको दुखेसो छ ।
नेपाल एयरलाइन्स कम्पनीको स्टेसन इन्चार्ज उमाकान्त अधिकारीले मौसम खराबीका कारण उडान हुन नसकेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘उडान तालिका आइरहन्छ तर जहाज नआएको धेरै भइसक्यो । हरेक दिन यात्रुको सामान जाँचेर यात्रुलाई विमानस्थल प्रवेश गराइँदै आएको छ ।’