
काठमाडौं । सिड्नीको स्टेडियम अस्ट्रेलियामा शनिबार एएफसी महिला एसियन कप २०२६ को उपाधिका लागि आयोजक अस्ट्रेलिया र दुई पटकको च्याम्पियन जापान आमनेसामने हुँदैछन् ।
नेपाली समय अनुसार दिनको पौने ३ बजे हुने फाइनल खेलमा आयोजक टोली अस्ट्रेलिया सन् २०१० पछि पहिलो पटक घरेलु मैदानमा उपाधि उचाल्ने दाउमा छ। अर्कोतर्फ, प्रतियोगितामा जापानको प्रदर्शन निकै घातक र लोभलाग्दो देखिन्छ । जापानले अहिलेसम्मका ५ खेलमा २८ गोल गरिसकेको छ भने केवल १ गोल मात्र व्यहोरेको छ ।
जापानकी रिको उएकी ६ गोलका साथ प्रतियोगिताकै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छिन् । मिडफिल्डमा युई हासेगावाको नियन्त्रण र अग्रपंक्तिमा उएकीको गति शनिबार अस्ट्रेलियाका लागि मुख्य चुनौती हुनेछ । अस्ट्रेलियाका लागि डिफेन्डर एलाना केनेडीले ५ गोल गरेकी छिन् भने कप्तान साम केरले ४ गोल गर्दै आफ्नो लय प्रमाणित गरेकी छिन् ।
केर सन् २०१० मा अस्ट्रेलियाले उपाधि जित्दाको टोलीकी एकमात्र सदस्य हुन् । इतिहास हेर्दा अस्ट्रेलियाका लागि जापान एक कठिन प्रतिद्वन्द्वी सावित हुँदै आएको छ। यी दुई टोलीबीचको यो ३१ औं भेट हो । यसअघि सन् २०१४ र २०१८ को एसियन कप फाइनलमा पनि यी दुई टोली भिडेका थिए, जहाँ दुवै पटक जापानले अस्ट्रेलियालाई १-० को नतिजाले हराउँदै उपाधि जितेको थियो ।
साथै, सन् २०२५ को सुरुमा भएको पछिल्लो भेटमा पनि जापानले अस्ट्रेलियालाई ४-० को भारी अन्तरले पराजित गरेको थियो ।