
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा मधेशी समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
मधेशी आयोग स्थापना दिवसका अवसरमा शनिबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उहाँले आन्दोलनका उद्देश्य स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहित राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नु रहेकाे बताउनुभयो ।
“जनचाहनालाई आत्मसात् गरेर राष्ट्र निर्माणका लागि अघि बढ्नु आजको आवश्यकता हो, हालै सम्पन्न निर्वाचनमार्फत जनताद्वारा अभिव्यक्त देश विकासको दायित्वलाई पूरा गर्न सबै पक्षलाई आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो । साथै उहाँले मधेशी समुदायले देश विकासमा पुर्याएको योगदानको सराहना गर्नुभयो ।
आयोगले बितेका सात वर्षमा मधेशी समुदायको पहिचान र अधिकारका लागि आधार खडा गरेको बताउँदै राष्ट्रपतिले आगामी दिनमा पनि आयोग सक्रिय रहने पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।