इरानी सेनाको नियन्त्रणमा उदयपुरका युवा अमृत झा, उद्धार गरिदिन सरकारलाई परिवारको आग्रह

चैत्र ७, २०८२ |भोटराज राई
इरानी सेनाको नियन्त्रणमा उदयपुरका युवा अमृत झा, उद्धार गरिदिन सरकारलाई परिवारको आग्रह

उदयपुर । इरानमा उदयपुरको एक युवा त्यहाँको सेनाको नियन्त्रणमा परेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट निवासी अमृत झा इरानी सेनाको नियन्त्रणमा रहेको परिवारले जनाएको हो । गएको ७ दिनदेखि झा नियन्त्रणमा परेको उहाँका भिनाजु राजेश झाले बताउनुभएको हो । पारिवारिक स्रोतकाअनुसार वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षअघि झा इरान जानु भएको हो । 

इरानमा उहाँ पानीजहाज चलाउने पाइलट पदमा रोजगारी गरिरहनु भएको थियो । पानीजहाज चलाएकै अवस्थामा उहाँ नियन्त्रणमा पर्नुभएको हो । दुबईबाट पानीजहाज लिएर इरान जाने क्रममा इरानको बन्दर अब्बास बन्दरगाहबाट नियन्त्रणमा परेको र कारागारमा राखिएको परिवारले जनाएको छ । 

नियन्त्रणमा पर्नुको कारण भने प्रष्ट हुन सकेको छैन । तत्काल उद्धार गरिदिन परिवारले नेपाल सरकारलाई आग्रह गरेको छ । उहाँकी दिदी पूजा झाले परराष्ट्र मन्त्रालयमा उद्धारका लागि निवेदन दिनुभएको छ ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।