विदेशी खेलाडीले श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने

चैत्र ५, २०८२ |खेल ब्युरो
विदेशी खेलाडीले श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने

काठमाडौँ । अध्यागमन विभागले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउँदा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध छ । अध्यागमन विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै एन्फाबाट सञ्चालित राष्ट्रिय महिला/पुरुष लिग फुटबल प्रतियोगितामा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरूलाई मात्र समावेश गराउन आग्रह गरेको हो ।

‘एन्फाबाट सञ्चालन भएको राष्ट्रिय महिला/पुरुष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीलाई समेत समावेश गरेको भन्ने उजुरी विभागमा प्राप्त हुन आएको छ । तसर्थ कुनै पनि खेलमा विदेशी खेलाडीहरूलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउनुहुन अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ ।

विभागले यस विषयमा आजैदेखि अनुगमन प्रारम्भ गरेको समेत जनाएको छ । स्वीकृति नलिएका विदेशी खेलाडीहरू भिसाको उद्देश्यविपरीत कुनै पनि खेलमा सहभागी भएको पाएमा तत्काल कारबाही अगाडि बढाइने विज्ञप्तिमा जनाएको छ ।