
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय लिग फुटबल प्रतियोगिता २०८२ अन्तर्गतका बिहीबारपछिका खेलहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । शुक्रबार जारी गरिएको एक सूचनामा एन्फाले प्राविधिक कारण देखाउँदै खेल नम्बर ९७ देखि १०० र १०१ देखि १३६ सम्मका खेलहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो ।
एन्फाले आज राष्ट्रिय खेलकुद परिषद्सँग श्रम स्वीकृतिका लागि सहजीकरणको माग गरेको थियो । त्यसपछि उसले सामाजिक सञ्जालमा सूचना नै जारी गरेर खेल स्थगित गरिएको जानकारी दिएको छ । एन्फाले प्राविधिक कराणवश प्रतियोगिता स्थगित गरेको बताएको छ ।
लामो समयदेखि आलोचनाको सिकार भएको एन्फामाथि अहिले श्रम स्वीकृति र कार्य अनुमति नलिएका खेलाडीलाई लिगमा सहभागी गराएको भन्दै उजुरी परेको छ । त्यसपछि आजै बिहान अध्यागन विभागले एन्फालाई पत्र पठाएको थियो । राष्ट्रिय लिग २०८२ पुस ३० गतेदेखि सञ्चालनमा आएको थियो । एन्फाले लिग स्थगनको निर्णयबारे सबै सहभागी क्लबहरूलाई पत्र पठाएर औपचारिक जानकारी गराइसकेको छ । तर, स्थगित भएका खेलहरू कहिलेदेखि सञ्चालन हुने भन्ने बारेमा भने एन्फाले हालसम्म कुनै मिति तोकेको छैन ।
यो निर्णयसँगै सहभागी क्लबहरू र समर्थकहरू अन्योलमा परेका छन् भने लिगको तालिका पनि प्रभावित हुने देखिएको छ ।