उपाधि खोसिएपछि सेनेगलले लगायो भ्रष्टाचार भएको आरोप, स्वतन्त्र छानबिनको माग

चैत्र ५, २०८२ |खेल ब्युरो
उपाधि खोसिएपछि सेनेगलले लगायो भ्रष्टाचार भएको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । सेनेगल सरकारले अफ्रिकी फुटबलको नियामक निकाय कन्फेडेरेसन अफ अफ्रिकन फुटबल (क्याफ)माथि भ्रष्टाचारको आरोप लगाएको छ । क्याफले सेनेगलबाट २०२५ को अफ्रिका कप अफ नेसन्सको उपाधि खोसेर आयोजक मोरक्कोलाई दिएपछि सेनेगलले यस विषयमा स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिनको माग गरेको हो ।

यो विवाद गत जनवरी १८ मा रबातमा भएको फाइनल खेलबाट सुरु भएको थियो । खेलको अन्तिम समयमा मोरक्कोले विवादित पेनाल्टी पाएपछि सेनेगलका खेलाडीहरूले विरोधस्वरूप करिब १४ मिनेटसम्म मैदान छाडेका थिए । यद्यपि, कप्तान साडियो मानेको आग्रहमा खेलाडीहरू मैदान फर्किए र अतिरिक्त समयमा गोल गर्दै सेनेगलले खेल १-० ले जितेको थियो ।

तर, मोरक्कोको अपिलपछि क्याफको अपिल बोर्डले सेनेगलले खेल बीचमै छाड्नुलाई नियमको उल्लंघन मान्दै सेनेगललाई पराजित घोषित गर्यो‍ र मोरक्कोलाई ३-० को नतिजासहित नयाँ च्याम्पियन घोषणा गर्‍यो । सेनेगल सरकारकी प्रवक्ता मेरी रोज खादी फातो फयेले एक विज्ञप्ति जारी गर्दै यो निर्णयलाई पूर्णरूपमा अवैध र गम्भीर रूपमा अन्यायपूर्ण बताउनुभएको छ । उहाँका अनुसार मैदानमा न्यायोचित ढंगले जितेको नतिजालाई प्रशासनिक निर्णयबाट उल्ट्याउनुले क्याफको आफ्नै विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको छ । 

सेनेगल फुटबल महासंघले यो निर्णयलाई अफ्रिकी फुटबलकै प्रतिष्ठामा धक्का पुर्‍याउने कदम भन्दै खेलकुदको सर्वोच्च अदालतमा अपिल गर्ने घोषणा गरेको छ । उनीहरूले खेलको अन्तिम नतिजालाई रेफ्रीले मान्यता दिइसकेको अवस्थामा त्यसलाई उल्ट्याउन नमिल्ने तर्क गरेका छन् ।

यो मुद्दा फुटबल मैदानबाट कानुनी कठघरामा पुग्दा अफ्रिकी फुटबलको भविष्यमा ठूलो प्रभाव पार्ने देखिएको छ ।