
काठमाडौँ । लियोनल मेस्सीले आफ्नो करियरको ९ सयौँ आधिकारिक गोल पूरा गरेका छन् । कन्काकाफ च्याम्पियन्स कपमा मेस्सीको यो व्यक्तिगत उपलब्धि टोलीलाई अर्को चरणमा पुर्याउन भने पर्याप्त भएन ।
बुधबार राति फ्लोरिडाको फोर्ट लाउडरडेलस्थित चेज स्टेडियममा भएको कन्काकाफ च्याम्पियन्स कपको राउन्ड अफ १६ को दोस्रो लेगमा अर्जेन्टिनी सुपरस्टार मेस्सीले आफ्नो खेल जीवनमा नयाँ कीर्तिमान रचेका हुन् । न्यासभिल एफसीविरुद्धको खेलको सातौँ मिनेटमा नै मेस्सीले गोल गर्दै इन्टर मियामीलाई सुरुआती अग्रता दिलाएका थिए । सर्जियो रेगुइलोनको पासको सदुपयोग गर्दै मेस्सीले बललाई जाली चुमाएका थिए ।
यस ऐतिहासिक गोलसँगै मेस्सी आधिकारिक रूपमा ९ सय गोल गर्ने विश्वकै दोस्रो पुरुष खेलाडी बनेका छन् । उनले यो कोशेढुंगा क्रिस्टियानो रोनाल्डोको तुलनामा करिब १०० कम खेलमा पार गरेका हुन् । मेस्सीले १ हजार १ सय ४२ खेलमा यो उपलब्धि हासिल गरे भने रोनाल्डोलाई ९०० गोल पुर्याउन १ हजार २ सय ३८ खेल लागेको थियो ।
आजको खेलको ७४औँ मिनेटमा न्यासभिलका क्रिस्टियन एस्पिनोजाले बराबरी गोल फर्काए । पहिलो लेग गोलरहित बराबरीमा सकिएकाले अवे गोलका आधारमा न्यासभिल एससी क्वार्टरफाइनल प्रवेश गरेको छ भने साबिक विजेता इन्टर मियामी प्रतियोगिताबाट बाहिरिएको छ ।