शनिबार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, सतर्कता अपनाउन आग्रह

चैत्र ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
शनिबार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका विभिन्न भागमा अत्यधिक वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले चैत ६ गते शुक्रबारदेखि मौसममा उल्लेख्य बदलाव आउने जानकारी दिएको हो । 

प्राधिकरणले आगामी तीन दिनको मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै देशभरका नागरिकलाई विशेष सतर्कता अपनाउन पनि अपिल गरेको छ ।

प्राधिकरणका अनुसार चैत ६ गते शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा अत्यधिक वर्षा र हिमपात हुने सम्भावना छ । हिमाली क्षेत्रमा हुने हिमपातका कारण चिसो बढ्ने र जनजीवन प्रभावित हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।

यस्तै शुक्रबारदेखि नै लुम्बिनी प्रदेशका दाङ र नेपालगन्जसहित तराईका जिल्लाहरूमा हावाहुरीको जोखिम बढेको छ । शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा झन्डै १ सय १९ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

प्रि-मनसुनको अवधि भएकाले यस्तो हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा प्रभावित पार्नसक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ । पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षतिसमेत भएकाले थप सचेतना आवश्यक रहेको सूचनामा उल्लेख छ ।

प्राधिकरणले विशेष काम नपरी यात्रामा ननिस्कन र सुरक्षित स्थानमा आश्रय लिन, हावाहुरी चलेको बेला घरका झ्याल र ढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू (चुलो, ग्यास आदि) बन्द राख्न,सवारी साधन चलाइरहेको भए सुरक्षित स्थानमा रोकेर बस्न, भीडभाडमा भए नआत्तिन र भागदौड नगरी बिस्तारै सुरक्षित ठाउँमा जान, कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीका खम्बा तथा तारमुनि नबस्न र विद्युतीय उपकरणहरू नचलाउन र लत्रिएका तारहरू नछुन आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.