
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयको प्रतिलिपि र सम्बद्ध प्रमाण झिकाउन आदेश दिएको छ ।
गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्धको मात्र सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध मुद्दामा अभियोगपत्र संशोधनको निर्णय गर्नुभएको थियो । तर लगत्तै माघ २ मा सबै प्रतिवादीहरूविरुद्ध दायर भएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध मुद्दामा अभियोगपत्र संशोधन गर्ने निर्णय गर्नुभयो । यद्यपि महान्यायाधिवक्ताको लिखित जवाफका साथ पेस नभएको भन्दै न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले २ गतेको निर्णयको प्रतिलिपि झिकाउन आदेश दिएको हो ।
यो मुद्दाको अर्को पेसी ९ गतेका लागि तोकिएको छ । अर्कोपटक ‘हेर्न नमिल्ने’ न्यायाधीशबाहेकको इजलासमा पेस गर्न पनि सर्वोच्चले उत्प्रेषण जारी गरेको छ ।