
वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले फागुन ५ गतेदेखि आजसम्म आमाको नामबाट ३३ नागरिकता जारी गरेको छ । बुबाको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने नागरिकता ऐन, २०६३ को प्रावधान कार्यान्वयनमा आएसँगै कार्यालयले वितरण गर्न थालेको हो ।
कार्यालयले नागरिकता ऐन र नागरिकता नियमावली, २०८२ को मापदण्ड पुगेका नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गरेको हो । कार्यालयले गत फागुन ५ गतेदेखि तोकिएको कागजात र मापदण्ड पुगेका नागरिकलाई आमाको नामबाट नागरिकता दिन थालेको हो ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली,२०८२ मन्त्रिपरिषद्बाट स्वीकृत गरी राजपत्रमा प्रकाशन भएपछि आवश्यक मापदण्ड र कागजात पुगेका नागरिकलाई आमाको नामबाट नागरिकता दिन थालेको बताउनुभयो । “नेपाल नागरिकता नियमावली, २०८२ ले तोकेको मापदण्ड पुगेका नागरिकलाई नागरिकता दिन थालेका छौं,” उहाँले भन्नुभयो, “नागरिकताविहीन भई आफ्नो अधिकारबाट वञ्चित भएका नागरिकहरुलाई ठूलो राहत भएको अनुभूति गरेका छौं ।”